लुम्बिनी प्रदेशको बुटवलमा कृषि मेला सुरु
2023-02-15 15:47:12CRI
Share with:

बुटवलमा मंगलबारदेखि कृषि मेला सुरु भएको छ। बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा एघारौँ संस्करणको कृषि मेला२०७९ सुरु भएको हो। मेलाको नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्दै मुलुकको अर्थतन्त्र सुधारको लागि कृषिजन्य वस्तुको आयात प्रतिस्थापन सँगसँगै निर्यातमा जोड दिनुभयो।

 

नेपाललाई कृषि प्रधान देश भनिए पनि कृषिजन्य वस्तुको उपभोग पनि आयातमा धानिएको बताउँदै उहाँले यही अवस्थामा अगाडि बढ्ने हो भने मुलुकको अर्थव्यवस्था झनै खस्किँदै जाने बताउनुभयो। मुलुकको अर्थव्यवस्था सुधारको लागि अर्थतन्त्रको प्रमुख आधार मानिएको कृषिको व्यावसायिक विकास, प्रविधिको प्रयोग र वैज्ञानिक कृषि प्रणाली अपनाउनु पर्ने उहाँको भनाइ छ।

कार्यक्रममा स्वागत गर्दै सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कृषिको व्यावसायिक विकासको लागि प्रवर्द्धनात्मक रूपमा कृषि मेला सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले कृषि वस्तुको प्रवर्द्धन तथा विविधीकरण गर्ने माध्यमको रूपमा खाद्य परिकारको प्रवर्द्धन पनि एउटा माध्यम भएकोले कृषि मेलामा पोर्क (बङ्गुर) का परिकार सहितको फेस्टिभल आयोजना गरिएको बताउनु भयो। त्यसबाहेक च्याउ, दुग्ध उत्पादन, कोदो माछाका परिकार मेलामा राखिने छ।

नेपालको कुल जनसङ्ख्याको ६६ प्रतिशत कृषि क्षेत्रमा आधारित भए पनि कुल ग्राहस्थ उत्पादनमा यसको ३६ प्रतिशत मात्रै योगदान रहेकाले कृषि क्षेत्रमा रहेको अपार सम्भावनालाई उजागर गर्दै थप लगानी भित्र्याउन र कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषि मेलालाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो।

बुटवल उद्योग वाणिज्य सङ्घ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको कृषि मेला यही फागुनको ६ गते सम्म चल्ने गोरखापत्र अनलाइनले लेखेको छ।