चीन सहितका छिमेकी मुलुकको विकासबाट लाभ लिनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ
2023-02-15 15:45:24CRI
Share with:

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा नेपाल रहेको बताउनुभएको छ। कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाहको निरीक्षण गर्दै उहाँले भन्नुभयो, यो बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुनेछ। यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पुर्‍याउने विश्वास छ।

 

उहाँले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीति अनुसार निर्माण हुने बताउँदै उहाँले भन्नुभयो, “हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ। सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन तीन वटै देशलाई फाइदा पुग्नेछ।

 

प्रधानमन्त्री दाहालले बन्दरगाह निर्माणलाई उच्च प्राथमिकता दिएको समेत बताउनुभयो। उहाँले हालै यसको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम सकिएकाले समयमै निर्माण पूरा हुनेमा विश्वास व्यक्त गर्नुभयो। एमओयूमै भारत सरकारले तीन वर्षमा बन्दरगाह निर्माण गर्ने भनिसकेकाले मलाई निकै खुसी लागेको छ, उहाँले भन्नुभयो, “यसबाट सुदूरपश्चिमका साथै मुलुकको विकासमा ठूलो योगदान पुग्नेछ।

 

दोधाराचाँदनी नगरपालिका वडा नं १, २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रको जग्गा प्रयोग गर्ने गरी नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाहको ईआईएमा सुझाव माग गरेको छ। प्रस्तावित आयोजनाले वन क्षेत्रको एक सय ८९ हेक्टर जग्गा भूउपयोग परिवर्तन हुने भनि प्रस्ताव गरेको छ। सुख्खा बन्दरगाहमा सडक, रेल्वे प्लेटफर्म, गोदाम, पार्किङ क्षेत्र, भन्सार, तौल पुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, पशुपन्छी/खाद्य जाँच केन्द्र प्रयोगशाला, बैंक, प्रहरी केन्द तथा प्रशासनिक भवन निर्माण हुनेछन्।

 

जसमा गोदामको क्षेत्रफल आयाततर्फ सात हजार वर्गमिटर, निर्यातका लागि दुई हजार पाँच सय वर्गमिटर, रेल्वे वेयर हाउस १७ हजार पाँच सय वर्गमिटर र १० हजार वर्गमिटर क्षेत्रफलको कन्टेनर स्ट्याकिङ यार्ड निर्माण हुनेछ । उक्त अवसरमा प्रधानमन्त्री दाहालले महाकाली नदीमा निर्माणाधिन चार लेनको पक्की पुलको समेत निरीक्षण गर्नुभएको कारोबार अनलाइनले जनाएको छ।

 

यसैबीच अनलाइनखबरका अनुसार मंगलबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा वित्तीय संकट देखिएकोले संकटलाई समाधान गरी सुशासन कायम गर्न सरकार लागि परेको बताउनुभयो।

वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै उहाँले बैंकको ब्याजदर वृद्धिका कारणले देखापरेका समस्या समाधान गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेर तत्काल व्यवसायीहरुलाई राहत दिनका निम्ति पहल भइरहेको बताउनुभयो। बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले लघु, घरेलु अथवा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरिरहेको उहाँले बताउनुभयो। वित्तीय अस्थिरताका कारण बैंकको ब्याज वृद्धि हुन गई लघु, घरेलु तथा साना उद्योगीहरुलाई परेको समस्या तत्काल समाधान गर्न सरकारले विभिन्न उपायहरु खोजिरहेको प्रचण्डको भनाइ थियो।

नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेको भन्दै अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयो। त्यसको खोजि गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले राज्यका कतिपय नीतिगत र कानुनी व्यवस्थाले घरेलु उत्पादनलाई प्रबर्द्धन गरी आत्मनिर्भर बनाउन नसकिएको स्वीकार गर्नुभयो।