एक वर्षपछि मूल्यवृद्धि १२ प्रतिशत पुग्ने उपभोक्ताको प्रक्षेपण
2023-02-16 16:29:13CRI
Share with:

आउँदा महिनाहरुमा पनि मूल्यवृद्धि चापमा पर्ने सम्भावना रहेको राष्ट्र बैंकको मुद्रास्फीति अपेक्षा सर्वेक्षणले देखाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मूल्यवृद्धि अपेक्षा सर्वेक्षण ले यस्तो देखाएको हो । सर्वेक्षणमा सहभागी उत्तरदाताले आउँदो तीन महिनाभित्र १० प्रतिशत र एक वर्षमा १२ प्रतिशतले मूल्यवृद्धि हुनसक्ने अनुमान गरेका हुन् ।

 

केही महिनायता बजारमा मूल्यवृद्धिको प्रवृत्ति, बजारमा वस्तु तथा सेवाको उपलब्धता लगायत आधारमा यस्तो प्रक्षेपण आएको राष्ट्र बैंकले जनाएको छ । तीन महिना पछि र एक वर्ष पछिको मध्यम अपेक्षित मुद्रास्फीति ०७९ असोजको तुलनामा समान रहेको छ भने तीन महिना पछिको औसत र एक वर्ष पछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ,’ सर्वेक्षणमा भनिएको छ, ‘तीन महिना र एक वर्ष पछिको मध्यम अपेक्षित मुद्रास्फीति क्रमशः १० र १२ प्रतिशत रहेको छ ।

 

सर्वेक्षणमा ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा २०७९ असोजको तुलनामा घटेको राष्ट्र बैंकले जनाएको छ ।

 

खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा गत असोजको तुलनामा बढेको छ । गैरखाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा गत असोजको तुलनामा केही घटेको छ ।