‘हरित उर्जाको बजार विस्तारीकरण’गर्न पावर समिट चैत १४ र १५ गते काठमाडौंमा
2023-02-16 16:28:05CRI
Share with:

हरित उर्जाको बजार विस्तारीकरणभन्ने नाराका साथ आगामी चैत १४ र १५ गते पावर समिट हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को आयोजनामा आठौं संस्करणको पावर समिट हुने भएको हो । 

ऊर्जा समिटमा ३० भन्दा बढी देशका तीन सय अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरु, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू, बिक्रेताहरू, थिंक ट्याङ्क र अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब आठ सय सहभागी हुने आयोजकले जनाएको छ ।

सम्मेलनको कन्ट्री पार्टनरका रुपमा भारत सरकार रहने छ भने प्रमुख प्रायोजकहरूमा विश्व बैंक, आईएफसी, एफएमओ, यूएसएआईडी लगायतका विकास साझेदारहरू रहेका छन्। सन् २००६ मा पहिलो पावर समिट आयोजना भएको र यसले मुलुकमा विद्युत् उत्पादनको लागि अनुकुल वातावरण सिर्जना गर्न ठूलो योगदान गरेको इप्पानको भनाइ छ। हालै सोलुदुधकोशी जलविद्युत् आयोजनाबाट ८६ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा थपिएसँगै देशको कुल राष्ट्रिय प्रसारण लाइनको जडित क्षमता २५ सय २० मेगावाट पुगेको छ।

 

यो वर्ष अरु करिब ६ सय मेगावाट विद्युत् प्रणालीमा थपिने छ। सन् २०२७ सम्ममा कुल जडित क्षमता ६७ सय मेगावाट पुग्ने अपेक्षा छ। यसरी विद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान हालको ५५ प्रतिशतबाट बढेर ८० प्रतिशत हुने इप्पानको अनुमान छ। पावर समिटमा हुने छलफलले नेपालको हरित ऊर्जाको बजारका लागि ढोकाहरू पहिचान गर्न र त्यसलाई खोल्नको लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। पावर समिटमा नेपालको विद्युत् बजार, प्रसारण पूर्वाधार, नेपालको जलविद्युत्‌को माग, प्रविधि र नवप्रवर्द्धन, सोलार, हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत् व्यापार, दिगो र जलवायु अनुकुल विकास लगायतका विषय समेट्ने गरी विभिन्न सत्रहरु सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ। साभारः कान्तिपुर अनलाइन।