तिब्बतसँगको हिल्सा नाका सञ्चालनमा आउने प्रतीक्षामा स्थानीय
2023-02-16 16:27:05CRI
Share with:

नेपाल र चीनको व्यापारिक नाका हिल्सालाई सञ्चालनमा उने प्रतिक्षामा हुम्लावासी रहेका छन्। व्यापार व्यवसाय गर्न, रोजगारीका लागि जान र पर्यटन प्रवद्र्धन गर्न जिल्लावासीले उक्त नाका सञ्चालनमा ल्याउन ग्रह गरेका छन्। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले हुम्लावासीका लागि मात्र नभएर कर्णाली प्रदेश र सिङ्गो देशकै लागि महत्व राख्ने नेपाल र चीनको सीमानाका हिल्सालाई दुईतर्फी सञ्चालन गर्न नेपाल सरकारसँग माग गर्नुभयो ।

 

२०७६ सालमा सुरु भएको हिल्सा नाका कोरोना महामारीपछि बन्द हुँदै आएको छ । उहाँले नाका बन्द हुँदा दुई हजारभन्दा बढी जिल्लावासीले प्रत्येक वर्ष रोजगारी गुमाउँदै आएको, मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटक आउन छोडेको र व्यापार व्यवसायसमेत ठप्प भएका कारण आउँदो सिजनबाट नाका सञ्चालन हुने गरी पहल गर्न माग गर्नुभएको गोरखापत्र अनलाइनमा समाचार छ।  

 

उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रामबहादुर भण्डारीले सरकारले हिल्सा नाका तत्काल खुलाउन पहल गर्नुपर्ने बताउनुभयो । अझै पनि उत्तरी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका कारण स्थानीयवासी महँगोमा प्रत्येक सामान प्रयोग गर्न बाध्य रहेको बताउँदै उहाँले सो नाका सञ्चालन भए उपभोग्य सामग्री, विकास निर्माणका सामान र इन्धन सुपथ मूल्यमा प्राप्त हुने बताउनुभयो । उहाँले वर्षौंअघिदेखि हुम्लावासीले छ महिनाका लागि रोजगारी गर्न चीनको ताक्लाकोट जाने अवसरबाट वञ्चित हुनु परेको बताउँदै नाका बन्दका कारण जिल्लावासीले घाटा बेहोर्नु परेको बताउनुभयो ।

 

नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले नाम्खावासीको धेरै कुरा हिल्सा नाकासँग जोडिएको चर्चा गर्दै यो नाका बन्दले विकास निर्माण काम र दैनिक उपभोग्य सामान महँगो भएको बताउनुभयो ।

 

नाम्खा गाउँपालिकाका वडा नं. ३, , ५ र ६ का बासिन्दा पूर्ण रूपमा चीनबाट आयात हुने सामानमै भर पर्नु परेको विगत छ । नाका सञ्चालनका लागि पटकपटक नेपाल सरकारसँग पहल गर्न माग गरिएको स्मरण गर्दै उहाँले यसप्रति अहिले चिनियाँ पक्ष केही लचिलो देखिएका कारण त्यसको फाइदा उठाउनुपर्ने बताउनुभयो ।

 

२०७२ को भूकम्पपछि तातोपानी नाका बन्द हुँदा पाँच वर्षमा ३० हजार भारतीय धार्मिक पर्यटकले हिल्साबाट मानसरोवर कैलाशको दर्शन गरेका थिए । हिल्सामा निर्माण भई सञ्चालनमा आएका एक दर्जन होटल हाल बन्द छन् । तीन वर्षमा छ हजारभन्दा बढी हुम्लावासीले रोजगारीसमेत गुमाउनु परेको छ । यसबाट जिल्लावासीले तीन करोड रुपियाँभन्दा बढीको आम्दानी गुमाउनुपरेको छ ।

 

गत पुस १३ गतेबाट निश्चित समयका लागि एकतर्फी रूपमा चीनले नाका सञ्चालन गरेपछि दैनिक उपभोग्य सामान र निर्माण सामग्री नेपाल आयात भएको थियो।