नेपालमा ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै, राष्ट्रपति / प्रधानमन्त्री लगायतको शुभकामना
2023-02-19 16:08:56CRI
Share with:


नेपालमा ज ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ। राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कूटनीतिक निकायका प्रमुखहरू सहभागी थिए।

 

समारोहमा नेपाली सेनाको दुई हेलिकोप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ अंकित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो। साथै मैदानबाट परेवा र रंगीचंगी बेलुन उडाउनुका साथै सहिदरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपास गर्नुका साथै देशप्रेमका कालजयी गीतहरुको धुन र ब्यान्ड बजाएर प्रजातन्त्र दिवस मनाइएको छ। कान्तिपुर अनलाइनका अनुसार आज विभिन्न कार्यक्रम गरी देशभर नै प्रजातन्त्र दिवस मनाइँदैछ।

 

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताउनुभएको छ।

 

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्ने उल्लेख गर्नुभएको हो।

 

हामीले हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्दछ, त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ,’ राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ।

 

प्रजातन्त्र दिवसको पृष्ठभूमिमा २००७ सालभन्दा अघि भएका आन्दोलनहरूको भूमिका अभिन्नरूपले जोडिएको र वि.सं. १९९७ मा प्रजापरिषद्को अगुवाइमा भएको आन्दोलनको क्रममा महान् सहिदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको सहादत भएको विषय सन्देशमा उल्लेख गरिएको छ ।

 

नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनहरूलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान एवं श्रद्धासमेत प्रकट गर्नुभयो।

यसैगरी प्रधानमन्त्री तथा ७३ औँ प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ।

 

आइतबार बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। सम्बोधनमा प्रधानमन्त्रीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताउनुभयो।