चिनियाँ सहयोगमा निर्मित पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि खुला
2023-02-20 15:51:09CRI
Share with:

चिनियाँ सहयोगमा निर्मित पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा ११ फागुनदेखि अन्तर्राष्ट्रिय उडान खुला हुने भएको छ । विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल (आइएफआर) प्रणाली लागू हुने भएपछि अन्तर्राष्ट्रिय उडानका लागि बाटो खुला भएको नयाँ पत्रिका अनलाइनले लेखेको छ ।

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले भिज्वल फ्लाइट रुल (भिएफआर) उडान गर्न मान्दैनन् । आइएफआर प्रणाली सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । पाइलटले आँखाले आकाश र रनवे हेरेर गरिने उडान ‘भिएफआर’ हो भने आधुनिक प्रविधिको सहायताबाट गरिने उडान ‘आइएफआर’ हो । आइएफआर सञ्चालनमा आउने भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले पनि पोखरा उडानका लागि चासो देखाउन थालेको पोखरा विमानस्थल आयोजना प्रमुख बिनेश मुनकर्मीले बताउनुभयो ।

भिएफआर फ्लाइटका लागि कम्तीमा पाँच हजार मिटर भिजिबिलिटी चाहिन्छ । अब पोखरामा आइएफआर प्रणाली लागू भएपछि ३८ मिटर भिजिबिलिटीमा पनि जहाज अवतरण गराउन सकिने विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो । विमानस्थलको पूर्वतर्फको ‘रनवे ३०’ बाट आइएफआर उडान–अवतरण गर्न सकिने । पश्चिमतर्फको ‘रनवे १२’बाट भने भिएफआर उडान मात्र हुनेछ । यती एयरलाइन्सको एटिआर–७२ जहाज अवतरणका क्रममा १ माघमा दुर्घटनामा परेपछि दुर्घटना जाँच आयोगले ‘रनवे १२’को विस्तृत अध्ययन गरेर मात्र अवतरणको अनुमति दिन सिफारिस गरेको छ । क्यानले दुर्घटनालगत्तै ‘रनवे १२’बाट तत्कालका लागि जहाज अवतरणमा रोक लगाएको छ ।

आइएफआर प्रणाली लागू भएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सेवाका लागि चौबिसै घन्टा खुला हुनेछ । अब पोखरामा रात्रिकालीन आन्तरिक उडान–अवतरण गर्न मिल्ने विमानस्थल प्रमुख गौतमको भनाइ छ । अहिले भिएफआर प्रणालीमा चार बजेपछि पोखराको उडान ठप्प हुन्छ । आइएफआर प्रणाली लागू भएपछि साँझमा पनि पोखरा उडान गर्ने आन्तरिक वायुसेवा कम्पनीको तयारी छ । बुद्ध एयरले आइएफआर लागू भएपछि पोखरामा साँझ आठ बजेसम्म उडान गर्ने योजना बनाएको छ ।

१ मार्चदेखि पोखरा विमानस्थलमा आफ्ना चारवटा जहाजलाई रात्रि बिसान गर्न लैजाने बुद्ध एयरका मार्केटिङ निर्देशक रूपेश जोशीले बताउनुभयो । आइएलएस प्रणाली सञ्चालनमा आएपछि प्राविधिक र व्यावसायिक पाटो हेरेर पोखरामा रात्रिकालीन उडान गर्न यती, सौर्य, श्रीलगायत वायुसेवा कम्पनी तयार छन् । रात्रिकालीन उडान सुरु भएमा पर्यटन प्रवद्र्धन मात्र होइन, काम विशेषले ओहोरदोहोर गर्ने यात्रुहरूलाई पनि ठूलो लाभ पुग्ने अपेक्षा गरिएको छ ।

कम्तीमा ३८ सय मिटरसम्म भिजिबिलिटीमा उडान–अवतरण गर्न सकिने हुँदा सामान्य मौसम बिग्रिँदा उठान रद्द हुनेछैन । यस्तै, रातिमा पनि उडान गर्न सकिने हुँदा बिहान र दिउँसो मौसम बिग्रिएकै कारण उडान नै रद्द गर्नुपर्ने अवस्था आउनेछैन । सामान्यतयाः आइएफआर प्रणालीमा तराई बेल्टका विमानस्थलमा २२ सय, १८ सय, १६ सय मिटर भिजिबिलिटिसम्म पनि जहाज उडान–अवतरण गर्न सकिन्छ । तर, पहाडै–पहाडको बीचमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘टेरेन’ले गर्दा ३८ सय मिटर भिजिबिलिटी चाहिने भएको क्यानका सूचना अधिकारी भुलले बताउनुभयो।

१७ पुसदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यलाई लिएर धेरै टीकाटिप्पणी भइरहेको छ । चिनियाँ एक्सपोर्ट–इम्पोर्ट बैंकबाट करिब २८ अर्ब रुपैयाँ ऋण लिएर बनाइएको विमानस्थलमा अहिले आन्तरिक उडान मात्र भइरहेको छ । गत हप्ता पोखरा पुगेका पर्यटनमन्त्री सुदन किराँतीलाई पोखरेली व्यवसायीले ‘विमानस्थलमा कहिलेदेखि अन्तर्राष्ट्रिय उडान हुन्छ ?’ भनेर प्रश्न गरेका थिए ।

पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि केही वायुसेवा कम्पनीले चासो देखाएको परियोजना प्रमुख मुनकर्मीले बताउनुभयो । पोखराबाट भारतको बनारसमा उद्घाटनकै दिनदेखि अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एयरको तयारी थियो । तर, भारतको उड्डयन क्षेत्रको नियामकले अनुमति नदिँदा बुद्धको पोखरा–बनारस–पोखरा उडान रोकियो । बुद्धले दिल्ली र देहरादुन पनि उडान गर्ने तयारी गरेको थियो ।

पछिल्लो समय हंगेरीको विज एयर, थाइल्यान्डको थाई स्माइल, कुवेतको जजिरा, फ्लाई दुबईलगायतले पोखरा उडानमा चासो देखाएको बताइएको छ । तर, पोखरामा न्यारोबडी जहाज मात्र उडान–अवतरण गर्न सक्ने हुँदा वाइडबडी जहाज मात्र हुनेले पोखरा उडान गर्न सक्दैनन् ।