भैरहवामा जजिराले पुनः उडान गर्दै
2023-02-20 15:55:19CRI
Share with:

सात महिना कुवेत–भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले आगामी मार्च ९ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ। गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको थियो।

जजिराले फागुन २५ गतेदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो। उहाँका अनुसार जजिराले हप्ताको तीन दिन उडान गर्दै छ। जजिराले उडान सुरु गर्न अग्रिम टिकट बुकिङ थालिसकेको उहाँले बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। प्रत्येक हप्ता मङ्गलबार, बिहीबार र शनिबार बिहान ८ः५ बजे उड्ने गरी तालिका तय भइसकेको उहाँले जानकारी दिनुभयो। 

जजिराले उडान रोकेपछि भैरहवामा रहेका निजी क्षेत्रका सङ्घसंस्था, पर्यटन व्यवसायीलगायतले पनि पुनः उडान सुरु गर्न पहल थालेका थिए।