विदेशबाट फर्किएका युवालक्षित पुनः एकीकरण कार्यक्रम सुरु
2023-02-20 16:03:00CRI
Share with:

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारबाट फर्केका न्यूनतम तीन हजार जनालाई लक्षित गरेर पुनः एकीकरणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ। वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका–२०७९ जारी भएसँगै चालू आर्थिक वर्षबाट कार्यक्रम सुरु गर्ने गरी तयारी गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

बोर्डका सूचना अधिकारी मैयाँ कँडेलले पहिलो वर्ष वैदेशिक रोजगारबाट फर्किएका तीन हजार युवालाई लक्षित गरी ‘पाइलट प्रोजेक्ट’का रूपमा पुनः एकीकरणका कार्यक्रम सञ्चालनका लागि तयारी गरेको जानकारी दिनुभयो।

उक्त कार्यक्रम सञ्चालनका लागि चालू आर्थिक वर्ष २०७९-८० मा वैदेशिक रोजगारीमा बढी गएका १५६ वटा स्थानीय पालिकालाई कार्यक्रमको प्रस्ताव पठाइएकोमा अधिकांशबाट आइसकेको पनि उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि चालू आर्थिक वर्षमा १५ करोड रुपियाँ विनियोजन गरिएको छ। 

बोर्डका अनुसार पुनः एकीकरण कार्यक्रमअन्तर्गत विदेशबाट फर्केका श्रमिकका लागि विशेष गरी वित्तीय साक्षरता, मनोपरामर्श र उद्यमशीलता, आर्थिक सशक्तीकरण र सीप तालिम कार्यक्रम सञ्चालन गरिनेछ। बोर्डले सबै स्थानीय पालिकामा कार्यक्रम सञ्चालन गर्ने योजना बनाए पनि विदेशबाट फर्केका युवाको तथ्याङ्क उपलब्ध भएका १५६ स्थानीय पालिकामा कार्यक्रम सञ्चालन गरिने जनाएको छ।

पुनः एकीकरण निर्देशिकामा कार्यक्रम सञ्चालनका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गर्न सक्ने व्यवस्था गरेको भए पनि सङ्घ, प्रदेश तथा स्थानीय पालिका र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएसँगै श्रम गन्तव्यमा समस्या पर्ने, बिरामी हुने, मृत्यु हुने र अङ्गभङ्ग हुनेको सङ्ख्या वृद्धि हुँदै गइरहेकाले मृतकका परिवार र बिरामी तथा अङ्गभङ्ग भएर फर्किएकालाई समाजमा एकीकरण गरी स्वरोजगार बनाउने कार्यक्रमको लक्ष्य रहेको छ। यस कार्यक्रममार्फत वैदेशिक रोजगारबाट पूर्ण र आंशिक असफल भएर फर्किएका श्रमिक वा उनीहरूका परिवारलाई पहिलो प्राथमिकतामा राखिने कँडेलले जानकारी दिनुभयो।

पहिलो चरणमा वैदेशिक रोजगारीबाट असफल भएर फर्केकालाई आर्थिक–मानसिक हिसाबले समाज र परिवारमा स्थापित गर्न उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको निर्देशिकामा उल्लेख छ। बोर्डका अनुसार स्वदेश फर्किएपछि आफ्नो समाज र परिवारमा स्थापित गराउन पुनः एकीकरण कार्यक्रम सञ्चालनमा ल्याइएको हो। कोभिड–१९ सङ्क्रमणका बेला लगभग छ लाख श्रमिक अलपत्र परेर स्वदेश फर्किएपछि एक वर्षअघि देखि कार्यविधि बनाउन थालिएको थियो।

बोर्डले कार्यक्रमको दायरा फराकिलो बनाउन आगामी वर्षमा उद्यमशीलता, सीप तालिम र वित्तीय सहयोगका लागि बैङ्क तथा वित्तीय संस्थासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। बोर्डले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको विवरण, श्रम गन्तव्य र कामको प्रकृति, आर्जन गरेको ज्ञान, सीप, अनुभव, समेटेर राष्ट्रिय, प्रादेशिक र स्थानीय आप्रवासी प्रोफाइल (रिटर्नी माइग्रेन्ट प्रोफाइल) तयारी गरेको छ।

पुनः एकीकरण कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकको सीप, पुँजी र प्रविधिलाई राष्ट्र हितका लागि उपयोग गर्ने तथा त्यस्ता नागरिकको पुनः एकीकरण गर्नका लागि बोर्डले सामाजिकीकरण, रोजगारीमा आबद्ध हुने र उद्यमशीलता प्रवर्धन हुने गरी कार्यक्रम सञ्चालन गरिने जनाएको छ।