विज्ञान–प्रविधिको विकासमा प्रतिबद्ध रहेको नेपालका प्रधानमन्त्रीको भनाइ
2023-02-21 15:53:52CRI
Share with:

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताउनुभएको छ। मङ्गलबार बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

“वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाईकन नेपालको विकास हुँदैन” उहाँले भन्नुभयो, “नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने अवस्थातिर जाँदैन।”

वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उहाँले जोड दिनुभयो।  “अहिलेको युग नै विज्ञान र प्रविधिको हो। जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दै।” विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

आविष्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो। कृषि, शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको थियो।

छलफलमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीन बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति रहेको थियो।