नेपाल र चीनबीचको विद्युत प्रसारण लाइनको छलफलका लागि चिनियाँ टोली नेपालमा
2023-02-21 15:42:33CRI
Share with:

नेपाल र चीनबीचको विद्युत प्रसारण लाइन कार्यप्रगतिबारे बुझ्न चिनियाँ टोली नेपाल आएको छ । फेब्रुअरी २१ तारिख मंगलबार हुने नेपाल–चीन विद्युत् व्यापार तथा प्रसारण लाइनको छलफलका लागि टोली नेपाल आएको कान्तिपुर अनलाइनले लेखेको छ । टोलीले विशेष गरी नेपाली पक्षसँग रातोमाटे–रसुवागढी–केरुङ प्रसारण लाइनका विषयमा छलफल गर्ने बताइएको छ ।

चीनको स्टेट ग्रिड कर्पोरेसन उपप्रमुखको नेतृत्वमा चिनियाँ टोली आइतबार नेपाल आएको नेपाल–चीन अन्तरदेशीय रातामाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइनका आयोजना प्रमुख कोमलनाथ आत्रेयले जानकारी दिनुभयो । ‘मंगलबार हाम्रो बैठक हुँदैछ । त्यसका लागि चिनियाँ टोली नेपाल आएको हो,' उहाँले भन्नुभयो । चिनियाँ टोलीसँग हुने छलफलका विषयमा भने आत्रेयले खुलाउनु भएन । नेपाल विद्युत् प्राधिकरण र चिनियाँ सरकारी स्वामित्वको कम्पनी स्टेट ग्रिड कर्पोरेसन अफ चाइना (एसजीसीसी) बीच २०७५ असारमा आयोजना विकाससम्बन्धी साझेदारी सम्झौता (पीडीए) भएको थियो । तर, कोभिडलगायत कारण देखाएर आयोजनाको समय थपिँदै आएको छ ।

कोरोना महामारीअघि प्राविधिकस्तरमा दुई चरण छलफल पनि भए पनि यसले गति लिन सकेको थिएन । २०७८ चैतमा तत्कालीन चिनियाँ परराष्ट्र मन्त्री वाङ यीको नेपाल भ्रमणमा ‘हाई भोल्टेज' सीमापार प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययनको म्याद थपसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौताअनुसार सम्भाव्यता अध्ययनको म्याद सन् २०२४ सम्म छ ।