नेपालको जलविद्युत क्षेत्रमा लगानीका अवसर विषयक अन्तर्क्रियात्मक कार्यक्रम बेइजिङस्थित नेपाली दूताबासमा आयोजना गरिएको छ। कार्यक्रममा चिनियाँ लगानीकर्ताहरुले नेपालमा जलविद्युत क्षेत्रमा लगानीका संभाव्यता बारेमा चासो राखेका छन्।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपलमा जलविद्युत क्षेत्रमा लगानीका प्रचुर सभावना रहेको जानकारी गराउनुभयो। सन् २०१९ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमणपछि सहयोग तथा लगानीका दायरा फराकिलो भएको उहाँले बताउनुभयो। नेपाल अतिकम विकसित मुलुकबाट विकासोन्मुख मलुकमा स्तरोन्नति हुन चाहेकाले छिमेकी मुलुकबाट लगानी अपेक्षित रहेको पनि राजदूत श्रेष्ठले बताउनुभयो।
अन्तर्क्रिया कार्यक्रममा चीन सीमापार विकास संघ कोडाका अध्यक्ष ह चन वेइले अफूले राष्ट्राध्यक्ष सीको नेपाल भ्रमणका दौरान लगानी संभावना धेरै देखेको बताउनुभयो। नेपालले आयोजना गरेको लगानी सम्मेलनमा सहभागी भएको र लगानी अवस्था बारेमा प्रत्यक्ष बुझेको पनि उहाँले बताउनुभयो।
कार्यक्रम अनलाइन तथा अफलाइन तरिकाबाट सञ्चालित भएको थियो। नेपालबाट नेपाल लगानी बोर्डका सहसचिव अमृत लम्साल, नेपाल विद्युत प्राधीकरणका विद्युत व्यापार निर्देशक प्रवल अधिकारी, पावर चाइना इन्टरनेसनल ग्रुप लिमिटेडका थोङ काङ, एसियाली पूर्वाधार लगानी बैंकका किशोर उप्रेती लगायतले नेपालमा लगानी संभाव्यता, अवसर र अनुभवहरु बारेमा जानकारी दिनु भएको थियो।