मायादेवी मन्दिरमा राखियो सुनको जलप लगाएको गजुर
2023-02-22 16:25:19CRI
Share with:

लुम्बिनी विकास कोषले मायादेवी मन्दिरमा नयाँ गजुर राखेको छ। पुरानो गजुर जीर्ण भएपछि कोषले स्वयम्भू स्तुपा आकारको नयाँ गजुर राखेको हो। गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोङले आर्थिक सहयोग गरेको लुम्बिनी विकास कोषले जनाएको अनलाइन खरबले लेखेको छ।

मंगलबार दाता मालिनोङ बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्ध भिक्षुबाट पूजा गरेपछि गजुर राखिएको हो। यसअघि राखिएको गजुर पुरानो र जीर्ण भएकाले मर्मत गर्ने योजना भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो।

आधुनिक प्रविधि अनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिव ६० लाख लगानी लागेको शाक्यले बताए। नयाँ गजुर राखिएपछि मायादेवी मन्दिर आकर्षक देखिएको छ।

स्वयम्भू स्तुपाको मोडेलमा रहेको गजुर करिव ३ महिना लगाएर तयार पारिएको शाक्यले बताए। गजुरको बाहिर पट्टीको भागमा सुनको जलप लगाइएको छ। यसअघिको मन्दिरको गजुर पुरानो र जीर्ण भइसकेको थियो।

‘बाँदरले हल्लाउंदा ढल्कने र खिइएकाले गजुर मर्मत गर्नुपर्ने भएको थियो, त्यही क्रममा थाइल्याण्डका बुद्धमार्गीले नयां गजुर राखिदिनुभयो’, शाक्यले भन्नुभयो, ‘गजुरसँगै बुद्ध जन्म स्मारक (मार्क स्टोन) स्थापनाका लागि समेत सहयोग भएको छ।’

मालिनोङ र लर्टट्रथले भारतको कुशिनगरस्थित विहारमा पनि गजुर स्थापना र बोधगयामा बोधी बृक्षको संरक्षणका लागि सहयोग गरेको बुद्धिष्ट अभियानकर्मी राजा शाक्यले बताउनुभयो। उहाँका अनुसार दाताले बुद्धप्रति श्रद्धा राखेर गजुर स्थापना गरेका हुन्।