आइसीसीमा नेपालको लोभलाग्दो जित
2023-02-22 16:22:51CRI
Share with:

नेपालले आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गतको त्रिदेशीय शृंखला क्लिन स्विप गरेको छ । चौथो तथा अन्तिम खेलमा लिग– २ को विजेता स्कटल्यान्डलाई दुई विकेटले हराउँदै नेपालले क्लिन स्विप गरेको हो । नेपालको जितमा कप्तान रोहित पौडेल नायक भए । यस्तै, करण केसी र सन्दीप लामिछानेको भूमिका पनि उल्लेख्य रहेको नयाँ पत्रिका अनलाइनले लेखेको छ।

माथिल्लो क्रमका अधिकांश ब्याटर आउट भइसकेको अवस्थामा कप्तान पौडेलले नवौँ विकेटका लागि करणसँग ७४ बलमा ७५ रनको कीर्तिमानी साझेदारी गरे । त्यसअघि स्कटल्यान्डलाई मध्यम स्कोरमा रोक्न सन्दीपले चार महत्वपूर्ण ब्याटरलाई आउट गरे ।

यो जितसँगै नेपालले लिग– २ को कुनै पनि शृंखला क्लिन स्विप गरेको कीर्तिमान पनि राख्यो । ०७६ माघयता नेपालले लिग– २ अन्तर्गत खेलेका ६ शृंखलाका २४ खेलमा आठ खेलमा मात्र जित निकालेको थियो । तर, सातौँ शृंखलामा आइपुग्दा चारमध्ये चारवटै खेल जितेर कीर्तिमान बनायो ।

स्कटल्यान्डमाथि दुई विकेटको रोमाञ्चक जित निकालेसँगै नेपालले आइसिसी पुरुष विश्वकप लिग– २ को शीर्ष तीन स्थानमा पुग्ने आशा जीवितै राखेको छ । नेपालले लिगमा २८ खेलबाट २६ अंक जोडेको छ । १२ जित र १४ हारको सामना गरेको नेपाल लिगको छैटौँ स्थानमै छ ।

नेपालको तुलनामा युएईले दुई खेल कम खेलेको छ । युएई २६ खेलमा २७ अंक बटुली पाँचौँ स्थानमा छ । चौथो स्थानमा रहेको अमेरिकाले लिग– २ का सबै ३६ खेलबाट ३५ अंक जोडेको छ । सबै खेल खेलिसकेकाले अमेरिकाको शीर्ष तीनमा रहने सम्भावना समाप्त भइसकेको छ । यस्तोमा शीर्ष तीनको होडमा नेपालसँगै नामिबिया र युएई पनि छन् । नामिबियाले ३४ खेलबाट ३७ अंक हासिल गरेको छ ।

नेपालले खेल्न बाँकी आठमध्ये दुई खेल नामिबियासँग छ । दुवै खेलमा नामिबिया विजयी भए उसको ४१ अंक हुनेछ । यो अवस्थाबाट नामिबियाले शीर्ष तीनभित्र आफ्नो दाबेदारी दिइरहनेछ । तर, नामिबियाको शीर्ष तीनको भविष्य युएई र नेपालले आगामी सिरिजमा निकाल्ने नतिजामा निर्भर हुनेछ ।

बाँकी सबै दश खेल जिते ४७ अंकका साथ युएई दोस्रो स्थानमा उक्लनेछ । नेपालले बाँकी आठवटै खेल जिते ४२ अंक हुनेछ । यस्तोमा लिगमा तेस्रो हुँदै नेपाल सोझै एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा पुग्नेछ । तर, त्यसअघि युएईको नतिजा नेपालअनुकूल हुनुपर्नेछ ।

नेपालले लिगको थप शृंखलाका लागि यसै साता युएईसँग प्रतिस्पर्धा गर्दै छ । त्यहाँ नेपालले युएई र पपुवा न्युगिनीविरुद्ध दुई–दुई खेल खेल्नेछ । त्यसपछि नेपालले घरेलु मैदानमा युएई र पपुवा न्युगिनीसँग पुनः दुई–दुई खेल खेल्नेछ । यी आठवटै खेलमा यसपटकको त्रिदेशीय शृंखलाकै लय कायम राख्ने प्रयासमा नेपाल हुनेछ ।

शीर्ष तीन स्थानमा रहँदै एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा पुग्न नसक्ने अवस्थामा नेपालको दोस्रो लक्ष्य बाँकी आठमध्ये पाँच खेल जित्नु हुनेछ । त्यसो गर्न सके पाँचौँ स्थानमा रही नेपालले एकदिवसीय मान्यता रक्षा गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले लिग– २ का शीर्ष पाँच देशलाई एकदिवसीय मान्यता प्रदान गर्छ । त्यो अवसर गुमे नेपालले अहिले प्राप्त गरेको एकदिवसीय मान्यता गुम्नेछ ।

लिग– २ का शीर्ष तीनबाहेक बाँकी चार टोलीले प्लेअफ खेल्नेछन् । स्कटल्यान्ड र ओमान आगामी जुन–जुलाईमा जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि सोझै पुगिसकेका छन् । तेस्रो हुने टिम पनि सोझै पुग्नेछ । तर, पुछारमा रहने चार टोलीले भने नामिबियामा मार्च–अप्रिलमा हुने प्लेअफ क्वालिफायर खेल्नुपर्नेछ ।