नेपालका लागि चिनियाँ राजदूत छन सोङद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट
2023-02-22 16:12:21CRI
Share with:

नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नु भएको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत छन सोङले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

नेपाल आएपछि राजदूत छन्‌को प्रधानमन्त्री दाहालसँग यो दोस्रो भेटवार्ता हो। यसअघि उहाँहरूबीच माघ २ मा बालुवाटारमै पहिलो भेटवार्ता भएको थियो। प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भेटवार्ताबारे जानकारी दिँदै राजदूत छन पोआओ फोरमको निम्तो दिन बालुवाटार आउनु भएको बताउनुभयो। चैत १४ देखि १७ सम्म चीनको हाइनान प्रान्तमा पोआओ फोरम आयोजना हुँदै छ। परराष्ट्र स्रोतका अनुसार उक्त निम्तो दाहाललाई यसअघि नै आइसकेको हो र उक्त फोरममा जाने वा नजाने भन्ने निर्णय मन्त्रिपरिषद्ले गर्न बाँकी नै छ।

राजदूत छन्‌ले यसअघि शुक्रबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्नु भएको थियो। त्यसबेला प्रधानमन्त्री दाहालले ओलीलाई भेटेर निस्केलगत्तै चिनियाँ राजदूत छन ओली निवासमा दूतावासका आफ्ना दुई अधिकारीहरूसहित पुग्नुभएको थियो।

आफ्नो नयाँ जिम्मेवारी सम्हाल्न आएपछि चिनियाँ राजदूत छनले प्रधानमन्त्री दाहालभन्दा अघि ओलीलाई मात्र दुईपटक भेट गर्नु भएको छ। यस अघि राजदूत छन र ओलीबीच बालकोटमै माघ ४ मा भएको थियो।