नेपालको वैदेशिक व्यापार २१ प्रतिशत घट्दा निर्यातमा २९ प्रतिशत गिरावट
2023-02-23 16:42:21CRI
Share with:

चालु आर्थिक वर्षको माघ महिनासम्ममा नेपालको कुल वैदेशिक व्यापारमा २०.८४ प्रतिशतले गिरावट आएको छ भने यो अवधिमा निर्यात सबैभन्दा बढी २९.०३ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार माघसम्ममा आयातमा भने १९.९ प्रतिशतमात्रैले कमी आएको कारोबार अनलाइनले लेखेको छ।

माघसम्म मुलुकले ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ व्यापार घाटा बेहोरेको छ। यस अवधिमा ९ खर्ब १९ अर्ब १६ करोडको वस्तु आयात हुँदा निर्यात भने ९३ अर्ब ४३ करोडमा सीमित छ, जसका कारण सवा ८ खर्ब व्यापार घाटा हुन पुगेको हो। यद्यपि, गत आवको सोही अवधिको तुलनामा मुलुकको व्यापार घाटा कम हो। गत वर्षको माघसम्ममा १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबरको व्यापार घाटा भएकोमा चालु आवमा भने १८.७१ प्रतिशतले कमी आएको विभागको तथ्यांक छ।

माघ मसान्तसम्ममा नेपालले कुल १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाखबराबरको वैदेशिक व्यापार गरेको छ। यो अवधिमा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७७ प्रतिशत र निर्यातको हिस्सा ९.२३ प्रतिशतमात्र रहेको छ। माघ मसान्तसम्म भएको वैदेशिक व्यापारबाट २ खर्ब १२ अर्ब १२ करोड ७४ लाख भन्सार राजस्व उठेको विभागको तथ्यांक छ।

माघसम्ममा भारतबाट ५ खर्ब ७० अर्ब ९६ करोड ९७ लाखबराबरको आयात भएको छ भने ६६ अर्ब २२ करोड ६५ लाख रुपैयाँबराबरको सामग्री निर्यात भएको छ। यसरी भारतसँग मात्र नेपालको व्यापार घाटा ५ खर्ब ४ अर्ब ७४ करोड ३१ लाख रुपैयाँ रहेको छ। यस्तै, उत्तरी छिमेकी चीनबाट १ खर्ब २५ अर्ब ५ करोड २४ लाखबराबरको आयात हुँदा निर्यात ४२ करोड २६ लाख रुपैयाँमा सीमित छ।

चीनसँग नेपालको व्यापार घाटा १ खर्ब २४ अर्ब ६२ करोड ९८ लाख रुपैयाँ रहेको जनाइएको छ। भारत र चीनपछि बढी व्यापार हिस्सा रहेको इन्डोनेसियाबाट ५७ अर्ब ९ करोड ६९ लाखबराबरको आयात हुँदा १० करोड ३६ लाखको मात्रै निर्यात भएको छ। संयुक्त अरब इमिरेट्सबाट २० अर्ब २६ करोड २५ लाखबराबरको सामान आयात हुँदा २५ करोड ८९ लाखबराबरको निर्यात भएको छ।

माघ मसान्तसम्ममा नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात गरेको छ। विभागका अनुसार १ खर्ब ७० अर्ब ४४ करोड ९७ लाख रुपैयाँबराबरको पेट्रोल, डिजे, मटीतेल, हवाई इन्धन र एलपी ग्यास आयात भएको छ। यस अवधिमा ८४ अर्ब ६१ करोड ६४ लाख रुपैयाँबराबरको डिजेल, ३८ अर्ब ७३ करोड ३३ लाखबराबरको पेट्रोल र ३३ अर्ब ३४ करोडबराबरको एलपी ग्यास तथा १२ अर्ब ९७ करोड ६० लाखको हवाई इन्धन आयात भएको छ।

यही अवधिमा नेपालले २६ अर्ब ४२ करोड ४२ लाखबराबरको अप्रशोधित सोयाबिन तेल आयात गरेको छ भने २३ अर्ब ६६ करोडबराबरको फलाम र १८ अर्ब ४५ करोड ३५ लाखबराबरका सुनजन्य वस्तु आयात गरेको छ। यस्तै, १७ अर्ब ७६ करोड बराबरको अप्रशोधित पाम आयल र १४ अर्ब ७६ करोड ८३ लाखबराबरको स्मार्टफोन आयात भएको तथ्यांक छ।

६ महिनामा नेपालबाट सबैभन्दा धेरै १३ अर्ब ९२ करोड ६७ लाखबराबरको पाम तेल निर्यात भएको छ भने ८ अर्ब २७ करोड ७५ लाख बराबरको सोयाबिन तेल निर्यात भएको छ। यस्तै, ४ अर्ब ८९ करोड ७३ बराबरको अलैंची र २ अर्ब ५८ करोड ३४ लाखबराबरको चिया निर्यात भएको छ।