नेपालका लागि चिनियाँ राजदूत छन सोङद्वारा चक्रपथ विस्तार कार्यको अनुगमन
2023-02-24 15:57:30CRI
Share with:

काठमाडौँको चक्रपथ सडक विस्तारको अनुगमन नेपालका लागि चिनियाँ राजदूत छन सोङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गर्नु भएको छ। चिनियाँ सहयोगमा हुने दोस्रो चरणको चक्रपथ विस्तार कार्य कलङ्कीदेखि महाराजगञ्ज नारायणगोपाल चोकसम्म हुनेछ।

बिहीबार उहाँहरुले कलंकीदेखि बसुन्धरासम्म समस्या देखिएका क्षेत्रको स्थलगत अनुगमन गर्नु भएको कारोबार अनलाइनले लेखेको छ।

लामो समयदेखि गति लिन नसकेको चक्रपथ दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज) विस्तारमा नेपाल सरकार र दाता राष्ट्र चीन दुवैले सक्रियता देखाएपछि अब काम सुचारु हुने ठानिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सङ सोङले बिहीबार स्थलगत अवलोकन गरी चक्रपथ विस्तारमा देखिएका वाधा–अवरोधका बारेमा जानकारी लिएर हटाउन पहल गर्नु भएको हो।

तीन वर्षअघि सुरु भएको कामले गति लिन नसकिरहेका बेला विभागीय मन्त्री, सचिव, सडक विभागका महानिर्देशक, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक, काठमाडौं महानगरपालिकाका मेयर र दाता राष्ट्रका राजदूतसहितको टोली अनुगमनमा खटिएको हो।

भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालका अनुसार नेपाल र चीन पक्षले पहिचान गरेका क्षेत्रमा प्रगति के कति भयो भन्ने विषयमा जानकारी प्राप्त गर्न स्थलगत भ्रमण गरिएको हो। केही क्षेत्रमा काम पूरा भएको र कतै काम हुँदै गरेको पाइएको प्रवक्ता नेपालले बताउनुभयो। उहाँका अनुसार स्युचाटार क्षेत्रमा बिजुलीको पोल सार्ने काम भइरहेको छ भने गोंगबुमा रहेको मन्दिर स्थानान्तरण हुने क्रममा छ। १५ दिनमा बिजुलीको पोल सार्ने काम पूरा हुने विद्युत प्राधिकरणले जनाएको छ।

पछिल्लो चरणमा करिब ३ दर्जन क्षेत्रमा देखिएका समस्याका बारेमा दुई पक्ष बसेर छलफल गरी डिजाइनको टुंगो लगाइने प्रवक्ता नेपालले बताउनुभयो। उहाँले भन्नुभयो, “विस्तारको कामलाई गति दिने र दुई पक्ष बसेर आयोजना अगाडि बढाउन जोड दिने कुरामा भ्रमण केन्द्रित भएको छ।” स्वयम्भूमा भने डिजाइन परिर्वतन गरेर चक्रपथ विस्तार गर्ने योजना बनाइएको छ।
कोभिड–१९ महामारीका कारण चक्रपथ विस्तारको काम रोकिएकोमा गत कात्तिकमा चीनले चासो देखाएसँगै कामले गति लिने विश्वास गरिएको थियो। त्यतिखेर पनि चिनियाँ पक्षले स्थलगत अध्ययन गरेर विस्तारका लागि चासो देखाएको थियो।

अब चाँडै कागजी प्रक्रिया मिलाएर मातहतका निकायसँगको समन्वयमा आयोजना विस्तारको कामलाइ गति दिने मन्त्रालयको योजना छ। गत असारमा नै सडक विभागले महाराजगञ्ज क्षेत्रको २४४ मिटर छोडेर निर्माण थाल्न पत्राचार गरेको भए पनि चिनियाँ निर्माण कम्पनीले पूरै साइट क्लियर गर्न माग गरेको थियो। कलंकीदेखि बसुन्धरा कल्भर्टसम्म चिनियाँ पक्षले र बाँकी खण्ड नेपाल सरकारले नै विस्तार गर्ने योजना रहेको सडक विभागले जनाएको छ।

चिनियाँ पक्षले डिजाइन र ड्रइङका लागि ‘माइन्युट अफ डिस्कसन’ को प्रस्ताव पठाएबमोजिम आयोजना विस्तारको काम अघि बढेको भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव अर्जुनजंग थापाले बताउनुभयो। स्थलगत भ्रमणका क्रममा राजदूत छन सोङले आगामी ६ महिनामा आयोजना विस्तारका लागि जनशक्ति परिचालन हुने बताउनु भएको छ। यसका लागि चिनियाँ पक्षले प्रारम्भिक डिजाइन मन्त्रालयलाई बुझाएको र सोहीअनुसार आयोजनाको काम अगाढि बढ्ने सहसचिव थापाको भनाइ छ।

नेपाल सरकारले निर्माण गर्ने सर्भिस लेनका लागि भने ठेक्का लागेको छ। त्यसैगरी मूल सडक खण्डका लागि कम्पनी छनोट गरेर काम भइरहेको सडक विभागले जनाएको छ। सरकारले सो खण्डको विस्तारका लागि चालु आर्थिक वर्षमा १ अर्ब बजेट विनियोजन गरेको छ।

कलंकीको स्युचाटारदेखि महाराजगञ्ज–सुकेधारा पुलसम्मको साइट क्लियरेन्सको काम करिब पूरा भइसकेको छ भने महाराजगञ्जको २४४ मिटर सडक खण्ड क्लियर हुन बाँकी छ। सो क्षेत्रमा करिब २ दर्जन घरको मुआब्जा सरकारले दिनुपर्ने छ। विभागका अनुसार घरको मुआब्जा दिने तर जग्गाको नदिने गरी फाइल अगाडि बढाइएको छ। अहिले भने स्युचाटारदेखि बसुन्धरा कल्भर्टसम्म विस्तार हुन लागेको हो।

चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुने आयोजनाका लागि २०७६ फागुनमा नै सरकारले साइट क्लियर गरेर विस्तारको जिम्मा दिने योजना थियो। तर प्राविधिक तथा कोभिड–१९ का कारण आयोजनाको कार्यप्रगति ढिलो भएको हो। सडक निर्माणका लागि कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर काम थाल्ने योजना छ। कलंकी–महाराजगञ्ज सडक चीनले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेको छ। तर, डीपीआर निर्माणका लागि सीमा क्षेत्र साइट क्लियर हुनुपर्ने चिनियाँ पक्षको शर्त रहेको थियो।

कुल ६२ मिटर चौडाइ रहने सडकमा केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर रहने र यसमा चीनले ५० मिटरमा सडक विस्तार गर्नेछ। बीचमा डिभाइडरसहितको ४ लेन र दायाँबायाँ २/२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुनेछ। बाँकी १२ मिटर चौडाइमा भने नेपाल सरकारले एक/एक लेनको साइकल लेन बनाउनेछ। साथै पैदल यात्रु लेन पनि हुनेछ। सो क्षेत्रमा रहेका करिब १९ सय रुख कटानको लागि लिलामी प्रक्रिया पनि सुरु भइसकेको छ।

साढे ८ किलोमिटर सडक खण्ड पनि २ वर्षभित्रै सक्ने तथा ६ अर्ब लागत अनुमान छ। सन् १९७७ मा चीनकै सहयोगमा साढे २७ किलोमिटर चक्रपथ निर्माण गरिएको थियो। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी–कोटेश्वरमा साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ। चीनको सरकारी कम्पनी सांघाई कन्स्ट्रक्सन गु्रपले २०७० सालदेखि विस्तारको काम अघि बढाएको थियो। निर्माण पूरा भएको कलंकी–कोटेश्वर खण्डको केही स्थानमा दुर्घटना वृद्धि भएपछि सडक विभागले डिजाइन परिवर्तन गरेर आयोजना विस्तार गरिने जनाएको छ।