एअर चाइनाले नेपालको गन्तब्यमा एक उडान थप गरेको छ। महामारीपछि हरेक आइबार सिछुवान प्रान्तको छन्तु सहरबाट काठमाडौँ सीधा उडान गर्दै आइरहेको सो कम्पनीले फेब्रुअरी २३ तारिखदेखि बिहीबारसमेत उडाउन सेवा विस्तार गरेको नेपाल समाज अनलाइनले लेखेको छ।
यो वर्षभित्र हप्तामा चार उडान बनाउने एअर चाइनाको योजना रहेको छ। कोरोना महामारीअघि काठमाडौँ छन्तु रुटमा हरेक दिन एउटा सीधा र तिब्बतको ल्हासालाई ट्रान्जिट बनाउँदै हप्तामा चार उडान गर्दै आइरहेको थियो।
सन् १९८७ सेप्टेम्बर १२ तारिखका दिन छन्तुबाट सिछुवान प्रान्तकै पहिलो अन्तरराष्ट्रिय उडानको रुपमा एअर चाइनाले काठमाडौँसँग नियमित सम्पर्क जोडेको थियो। यो नेपाल र चीनबीचको पहिलो यात्रुवहाक हवाइ सेवासमेत हो।
चीनले आफ्ना नागरिकहरुलाई घुम्न जान पाउने २० देशको सूचीमा नेपाललाई समावेश नगरे पनि चिनियाँ विमान कम्पनीले काठमाडौँको गन्तब्यमा विस्तारै उडान थप्दै आएका छन्। हाल चाइना साउदर्नले हप्ता एक उडान क्वाङ्चौ (ग्वाझाउ)बाट गर्दै आइरहेको छ। नेपाल-चीन संयुक्त लगानीको हिमालय एअरलाइन्सले हप्ताको एक उडान राजधानी बेइजिङ र दुई उडान खुनमिङ्ग (कुनमिङ्ग) बाट गर्दै आइरहेको छ।
चाइनाबाट उडान भर्दै आइरहेका सिचुवान, चाइना इस्टर्न र तिब्बत एअरको नेपालतर्फको उडान भने खुल्न बाँकी छ। त्यसैगरी हिमालयले काठमाडौँबाट उडान भर्दै आएको क्वियाङ्ग, छोङ्गछिङ्ग, छाङ्शाको उडान पनि सुचारु हुन सकेको छैन।
चीन नेपालको प्रमुख पर्यटकीय बजार हो। सन् २०१९ मा १ लाख ७० हजार बढी चिनियाँ पर्यटक नेपाल आएका थिए।