कोरला—त्रिवेणी सडक निर्माण द्रुत गतिमा अगाडि बढाइने
2023-02-25 16:22:19CRI
Share with:

गण्डकी प्रदेशकै गौरवको आयोजना ‘कोरला–त्रिवेणी सडक’ निर्माणको काम द्रुत गतिमा अघि बढाइने भएको छ। गण्डकी प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त सडक निर्माणको काम तत्काल अगाडि बढाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला मन्त्री रोशन गाहा मगरले बताउनु भएको रातोपाटी अनलाइनले लेखेको छ।

प्रदेशको राजधानी पोखरा र नवलपुरसम्मको सडक खण्ड सरल, सहज र छोटो दुरी बनाउन र चीनसँगको नाकामा सिधै जोड्न सकिने भएकाले यसलाई तत्काल अगाडि बढाउने निर्णय भएको उहाँले बताउनुभयो। ‘पोखरादेखि त्रिवेणीसम्मको करिडोरलाई प्राथमिकता दिएर यसको डीपीआर र इआइए तत्काल अगाडि बढाउने र फास्ट ट्रयाकमा काम गर्ने निर्णय भएको छ,' मन्त्री मगरले भन्नुभयो।

गण्डकी प्रदेश सरकारले नेपाल—भारत सीमाको त्रिवेणी भन्सारबाट दुम्कीबास, खैरेनी, पोखरा, बेनी, जोमसोम हुँदै कोरला जोड्ने सडकलाई प्रदेशको ‘लाइफलाइन' मानेको छ । तर, कोरला नाका वर्षौँदेखि बन्द छ।

कोरला नाका चीनले नियमित खुलाएको छैन। कोभिड—१९ महामारी आउनुअघि वर्षमा दुईपटक यो नाका खुल्थ्यो। अहिले यो नाका खुलाउने पहल भए पनि सार्थक परिणाम हासिल भएको छैन। उक्त नाकालाई खुलाउने र चीन–भारत व्यापारबाट फाइदा लिन सक्ने रणनीति गण्डकी सरकारको हो।

कोरला नाका खुला हुँदा नेपाल आउने पर्यटकको संख्या पनि बढ्नेछ। त्रिवेणी–कोरला सडक निर्माण समयमै सक्नुपर्ने पोखरेली पर्यटन व्यवसायीको माग छ।