लुम्बिनीबाट एक करोड १७ लाख विदेशी मुद्रा सटही गरिने
2023-02-25 16:29:33CRI
Share with:

लुम्बिनीमा विदेशी पर्यटकबाट दानबापत सङ्कलित विदेशी मुद्रा अब सटही हुने भएको छ। लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बिहीबार राष्ट्र बैक सिद्धार्थनगर रुपन्देहीका निर्देशक थानेश्वर आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएसँगै लामो समयदेखि सटही नभएर कागज बराबर भएका विदेशी मुद्रा सटही गर्ने सहमति भएको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपाल राष्ट्र बैङ्कको परिवर्त्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले भेटी र दानबापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन सकेको थिएन। राष्ट्र बैङ्कले सटहीका लागि प्रक्रिया थाल्न लुम्बिनी विकास कोषलाई सहमति दिएसँगै आर्थिक वर्ष ०७१/०७२ देखि सटही हुन नसकेको १ करोड १७ लाख ९५ हजार बराबरको विदेशी मुद्रा सटहीको प्रक्रियामा गएको हो।

विभिन्न मुलुकबाट लुम्बिनी भ्रमणमा आएका पर्यटकले चढाएको भेटी रकम राष्ट्र बैङ्कको परिवर्त्य विदेशी मुद्राको सूचीमा नपरेकै कारण सटही हुन नसकेको र आफूहरूको पटक पटकको अनुरोधपछि सटही हुने अवस्थामा आएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिनुभयो।

‘राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद शर्मा रुपन्देही आएको बेला भेटी बापतको रकम सटही नभएको कुरा राखेका थियौँ, ध्यानाकर्षण पत्र पनि बुुझायौं, राष्ट्र बैङ्कले सटही गर्ने सैद्धान्तिक सहमति भएको छ’ कोषाध्यक्ष भट्टराईले भन्नुभयो। कोषले सङ्कलित विभिन्न ३९ देशका विदेशी मुद्रा सटहीका लागि एक हप्ताभित्रमा राष्ट्र बैङ्क पठाउने उनले बताउनुभयो।

लुम्बिनीमा भेटी र दानबापत जम्मा भएको विदेशी मुद्रामा सबैभन्दा धेरै म्यानमारको छ। यस्तै, श्रीलङ्का, मेक्सिको, इराक, ब्रुनाई, लेबनान, पेरु, युगान्डा लगायतका मुलुकको मुद्रा छ। परिवर्त्य विदेशी मुद्राको सूचीमा नरहेका देशको मुद्रा भएकाले सटहीमा समस्या भए पनि अब आफूहरूले सटहीका लागि प्रक्रिया अघि बढाइने राष्ट्र बैङ्क सिद्धार्थनगर शाखाका उपनिर्देशक जीवन प्रकाश पाण्डेले बताउनुभयो।

कोषबाट आउने मुद्रालाई केन्द्रीय कार्यालय हुँदै राष्ट्र बैङ्कको सिङ्गापुरस्थित एजेन्सी बैङ्कमा मुद्रा सटहीका लागि पठाइनेछ। उहाँका अनुसार यो रकम सटही भएपछि ३ देखि ४ महिनाको अवधिमा लुम्बिनी विकास कोषको खातामा जम्मा हुनेछ।

राष्ट्र बैङ्कले च्यातिएका, बढी केरमेट भएका र रङ लागेका, टालेका, झुत्रो भएका नोट भने सटहीमा समस्या हुने भएकाले त्यस्ता नोट नपठाउन कोषलाई सुझाव दिएको छ। लुम्बिनीमा भेटीबापत सङ्कलित विदेशी मुद्रा सटही नहुँदा कागज बराबर भएको भन्दै विभिन्न सञ्चारमाध्यममार्फत आलोचना भएको थियो।