नेपालमा हुने राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्बाङ उम्मेदवार
2023-02-26 15:56:23CRI
Share with:

नेपालमा आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ । उहाँहरु दुवैजना पूर्वसभामुख हुनुहुन्छ । पौडेललाई आठदलीय गठबन्धनको समर्थन छ भने नेम्वाङ एमालेका एकल उम्मेदवार रहनु भएको नयाँ पत्रिका अनलाइनले लेखेको छ । 

निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । उम्मेदवारी दिन नेम्वाङ पार्टी अध्यक्ष केपी ओली, केही पदाधिकारी, सांसद र कार्यकर्ताको दलबलसहित संसद् भवन पुग्नु भएको थियो। दिउँसो पौने एकमा उहाँको उम्मेदवारी दर्ता भएको छ । उहाँको प्रस्तावकमा अध्यक्ष ओलीसहित पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुवीर महासेठ र छविलाल विक तथा समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहनु भएको छ। 

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति र जनमोर्चाको समर्थनमा उम्मेदवार बन्नुभएका पौडेलले दिउँसो २ बजेपछि उम्मेदवारी दर्ता गर्नुभयो । बिहान कांग्रेसको कार्यसम्पादन समितिबाट उम्मेदवार चुनिएका पौडेलको प्रस्तावक र समर्थक जुटाउन दिउँसो १ बजे संसद् भवनमै आठदलीय गठबन्धनको बैठक बसेको थियो । 

पौडेलको प्रस्तावकमा सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपा सांसद अशोक राई र जनमतका सांसद अब्दुल खान तथा समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र माओवादी प्रमुख सचेतक हितराज पाण्डे हुनुहन्छ ।

मनोनयन दर्ता गरेर समर्थकको भिडसँगै हलबाट बाहिरिएर पौडेल पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिनुभयो। नेपालको संविधानको अक्षर र भावनालाई अक्षरशः पालना गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको सपना सकार गर्ने र गणतन्त्रलाई संस्थागत गर्न भूमिका खेल्ने उहाँले बताउनुभयो । ‘नेपाली जनताको हातमा आएको सार्वभौमसत्तालाई बलियो गरी सुरक्षित राख्नुपर्नेछ । परिवर्तनको रक्षा गर्दै उन्नति, राष्ट्रिय एकता जोगाउने, राष्ट्रियता सबल बनाउने काममा मेरो सहयोगी भूमिका हुन्छ,’ उहाँले भन्नुभयो । 

एमालेले पनि आफूलाई सघाउने र आफ्नो नाम सर्वसम्मत हुने अपेक्षा रहेको पौडेलको भनाइ थियो । ‘एमाले अध्यक्ष पनि मसँगै जेल बस्नुभएको हो, पुरानो साथी हो, यो पदलाई राष्ट्रको साझा पद बनाउन उहाँले योगदान गर्नुहोला भन्ने विश्वास लिएको छु,’ उहाँको आशा थियो । 

एमाले उम्मेदवार नेम्वाङले पनि आफ्नो नाममा राष्ट्रिय सहमति हुन सक्ने दाबी गर्नुभयो । ‘राष्ट्रपति निर्वाचनमा सम्मानका साथ अघि बढेको छु । प्रतिस्पर्धा भयो भने परिणामलाई स्वीकार गर्ने प्रणाली बनाएका छौँ । प्रतिस्पर्धामा आउनेलाई सम्मान छ । व्यवहारमा जनताको राष्ट्रपति अनुभूत हुने ढंगले काम गर्ने मेरो प्रयास हुनेछ,’ उहाँले भन्नुभयो, ‘हिजो संविधानसभामा ३१ दलको निर्विकल्प सर्वसम्मत संविधानसभाको अध्यक्ष भएर जसरी संविधान जारी गर्न भूमिका निभाएँ, त्यही संविधानको संरक्षक हुने एउटा मौका, अवसर प्राप्त गरेको छु । त्यसमा अग्रसर भएको छु । त्यो अवसर नेपाली जनता र मतदाताले मलाई दिनेछन् । त्यसलाई इमानदारिताका साथ पालना गर्नेछु ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित समर्थक र प्रस्तावकका साथमा पौडेल मनोनयन दर्ता गर्न पुग्दा ल्होत्से हल भरिभराउ भयो । कांग्रेस पदाधिकारीसहित अधिकांश सांसद तथा शुभेच्छुक उपस्थित थिए । एकीकृत समाजवादी, जसपा, लोसपाका धेरै सांसद पनि हलमा देखिए । आठदलीय गठबन्धनका नेताहरूलाई कैद गर्न क्यामेराको तँछाडमछाडको अवस्था बन्यो । बदलिएको राजनीतिक समीकरणका कारण एमाले नेता–कार्यकर्तामा भने त्यति उत्साह देखिँदैनथ्यो । 

नेम्वाङको उम्मेदवारी दर्तापछि एमाले अध्यक्ष ओलीले संविधानसभा अध्यक्षको हैसियतले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेम्वाङलाई आफ्नो पार्टीले राष्ट्रपतिमा अघि सारेको बताउनुभयो । ‘हामीले दलीय स्वार्थ होइन, राष्ट्रिय स्वार्थ, जनताको हित, संविधान र प्रणालीको रक्षा, सही कार्यान्वयन र प्रयोगका लागि यो उम्मेदवारी दिएका हौँ,’ उहाँले भन्नुभयो, ‘हामीलाई विश्वास छ, हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य मात्र होइन, स्वागतयोग्य बन्नेछ । हरेक मतदातालाई मतदानका निम्ति प्रेरित गर्न मिडिया, सामाजिक सञ्जाल सबैतिरबाट साथ–सहयोग प्राप्त गर्नेछौँ । सबै जनताको साथ–सहयोग हामीलाई प्राप्त हुनेछ । अत्यधिक मतले विजयी हुनेछौँ भन्ने विश्वास लिएको छु ।’