११२ जना महिलाद्वारा ट्रेकिङ गाइड तालिम ग्रहण
2023-02-26 16:07:26CRI
Share with:

काठमाडौंमा महिलाहरूका लागि आयोजना गरिएको ३५ दिने निःशुल्क ट्रेकिङ गाइड तालिम सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुन:उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) सँगको सहकार्यमा उक्त तालिम सम्पन्न भएको सेतोपाटी अनलाइनले लेखेको छ।

तालिममा सातै प्रदेशका २५ जिल्लाबाट ११२ जना प्रशिक्षार्थीहरूको  सहभागी  थिए। तालिमको समापनपछि आयोजित प्रमाणपत्र तथा ट्रेकिङ गाइड स्रोत पुस्तिकाको विमोचन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनन्जय रेग्मीले पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न तालीमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

‘पर्यटनमा यसैपनि दक्ष जनशक्ति अभाव छ। त्यसमा पनि महिला सहभागिता झनै कम छ। यो अवस्थामा महिलाहरूलाई तालिम दिन सकिए यो दीगो हुनको साथै पर्यटन क्षेत्रमा महिला सहभागिता समेत बढ्ने अपेक्षा हामीले गरेका छौँ। साथै यसले रोजगारीको अवसर मिल्नुका साथै स्वरोजगार समेत सिर्जना हुनेछ’ उहाँले भन्नुभयो। 

यस्तै, युएनडीपी नेपालका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले तालिमले पर्यटन क्षेत्रमा महिला सहभागिता अभिवृद्धि हुने बताउनुभयो। साथै, आगामी दिनमा पनि बोर्डसँगको सहकार्यमा यस्ता तालिम सञ्चालन गर्न सकिने बताउनुभयो।

सो अवसरमा नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले तालिमलाई व्यवहारिक बनाउन सैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गरिएको जानकारी दिनुभयो।

यस्तै, नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) का कार्यकारी निर्देशक रूद्रप्रसाद चापागाइले यो तालिमले पर्यटनमा महिला सहभागिता बढाउनुको साथै रोजगारीमा समेत योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभयो। देशैभरीबाट सहभागिताको लागि आह्वान गरी तालिम सञ्चालन गर्न खोजिएकोमा तालिममा सहभागि हुन चाहनेहरूको संख्या धेरै भएपछि अन्तवार्ताको माध्यमबाट सहभागी छनोट गरी दुई चरण गरी तालिम सम्पन्न गरिएको जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जनविज्ञ धर्म दवाडीले जानकारी दिनुभयो।

कार्यक्रकै अवसरमा ट्रेकिङ गाइड सम्बन्धी स्रोत पुस्तिकाको समेत विमोचन गरिएको थियो। स्रोत पुस्तक ट्रेकिङको क्षेत्रमा काम गर्ने तथा अध्ययन गर्नेहरूका लागि समेत सहयोगी हुने नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) का प्रशिक्षक हिमाल पण्डितले जानकारी दिनुभयो।

यसमा  सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित ट्रेकिङको सामान्य पर्यटन जानकारी, देशको भूगोल र भूगोल, वातावरण, नेपाली धर्मको इतिहास, अन्तरसांस्कृतिक पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षा र सुरक्षा, जोखिमहरू उल्लेख गरिएको छ।