हनुमानढोकामा चीर ठड्याएर होली पर्व सुरु
2023-02-27 18:03:45cri
Share with:

काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ। वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज (सोमवार) तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मान्ने गरिएको नेपाल खबर अनलाइनले लेखेको छ।

सोमबार बिहान ७ बजेर ४५ मिनेट गएको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका हुन्।

सोमबार नै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ।

चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रुपमा ठड्याइएको बताउनुभयो। उहाँले चीर ठड्याइसकेपछि विधिवत रुपमा होलदी पर्व सुरु भएको मानिने बताउनुभयो। 

‘चीरको महत्व परापूर्वकालदेखि नै छ। असत्यमाथि सत्यको जितको रुपमा मनाउने गरिन्छ’, उनले भने, ‘यो ठड्याइसकेपछि विधिवत रुपमा होली सुरु हुन्छ। यो चीर मानन्धर समुदायले ठड्याउँदै आउनुभएको परम्परा हो।’

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ। फागुन २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ।