माथिल्लो माछाखोला जलविद्युत् आयोजनाबाट उत्पादन सुरु
2023-02-28 16:32:42cri
Share with:

गोरखाको धार्चे गाउँपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ।

गोरखा जिल्लाको उत्तरी भूभागमा पर्ने धार्चे गाउँपालिकामा रहेको बुढीगण्डकी नदीको सहायक नदी माछा खोलामा करिब १ अर्ब लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनामा ३५ प्रतिशत लगानी संस्थापकहरूको छ भने राष्ट्रिय बाणिज्य बैंकको ६५ प्रतिशत ऋण लगानी छ । यस आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग गरेको विद्युत् खरिद बिक्री सम्झौता अनुसार २०८० साल असार ३० गते विद्युत् उत्पादन गर्ने लक्ष्य रहे पनि सो मितिभन्दा ४ महिना अगावै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी उत्पादन सुरु भएको छ ।

 

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले जलविद्युत् निर्माणमा संलग्न गैरआवासीय नेपाली र स्थानीय लगानीकर्ताको योगदानका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो। उहाँले १३२ केभीएको ट्रान्समिसन लाइन निर्माणको लागि सरकारले तत्काल काम सुरु गर्ने बताउनुभयो।

भर्चुअल उद्घाटन कार्यक्रममा गोर्खा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईंले गोरखाका विविध समस्याको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउँदै १३२ केभीएको ट्रान्समिसन लाइन निर्माण तत्कालै गर्नुपर्ने बताउनुभयो। यसका लागि जग्गाको कुनै समस्या नरहेको जनाउँदै बजगाईंले ट्रान्समिसन लाइन नबन्दा धेरै जलविद्युत् आयोजनालाई समस्या हुने बताउनुभएको कान्तिपुर अनलाइनले जनाएको छ। बजगाईंले गोरखामा बुढीगण्डकीसँगै अन्य धेरै जलविद्युत्‌को प्रचुर सम्भावना रहेको पनि बताउनुभयो।