काठमाडौं-धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रगति ७४.२० प्रतिशत
2023-03-01 16:28:46cri
Share with:

निर्माणाधिन काठमाडौं धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्रमा प्रगति ७४.२० प्रतिशत पुगेको छ। आयोजनाले प्रगती विवरण जारी गर्दै भनेको छ, “काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ८ सय १३ मिटर सुरुङ खन्ने काम पूरा भएको छ।”

सुरङमार्ग छेड्ने काम समयमा पूरा नहुने भएपछि ९ महिना थप गरिएको छ भने कोभिड–१९ का कारण करिब ३ महिना समय थप गरेको सडक विभागका उपमहानिर्देशक रामहरि पोखरेलले बताउनुभयो। उहाँले भन्नुभयो, “आयोजनको कुल ७४.२० प्रतिशत काम पूरा भएको छ। समयमा सुरङ छेड्ने काम पूरा नहुने भएपछि निर्माण कम्पनीको एक वर्ष म्याद थप गरिएको छ।”

 

आयोजनालाई ४२ महिनामा निर्माण पूरा गर्नुपर्ने समयसीमा थियो । तर अब म्याद थप भएसँगै सन् २०२४ को अक्टोबरमा सञ्चालनमा आउनेछ। निकासी सुरुङमार्गको २५ सय ५७ मिटरमध्ये २ हजार ६९ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । ओर्किङ अडिट १ सय २६ मिटर पूरा भएको छ भने क्रस प्यासेज, १ सय २८ मिटर र क्रस प्यासेज ७४.२० मिटर पूरा भएको छ ।

आयोजनाको कुल भौतिक प्रगति ४९.३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५३.९५ प्रतिशत पूरा भएको बताइएको छ । मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाको भनाइ छ । सुरुङ मार्ग छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ (फिनिसिङ) को कामसमेत तीब्र रुपमा अघि बढाएको छ ।

हालसम्म मुख्य, सहायक सुरुङ, बोर्किङ अडिट सुरुङ खन्ने काम सम्पन्न भएको आयोजनाले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख छ । २०७७ पुस ७ गतेबाट सुरुङ छेड्ने काम थालिएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते २.६८ किलोमिटर लम्बाइको सुरुङमार्गको शिलान्यास गरिएको कारोबार अनलाइनले जनाएको छ।