थामिएन विदेशिने नेपालीको लस्कर
2023-03-01 16:27:56cri
Share with:

सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिना अर्थात् गत साउनदेखि माघसम्ममा साढे चार लाखभन्दा बढी नेपाली युवा रोजगारीको खोजीमा मलेसिया, खाडीलगायतका मुलुकमा गएका छन्।

 

विभागका अनुसार सो अवधिमा चार लाख ६२ हजार जनाले श्रम स्वीकृति लिएका छन्। तीमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान)मा जानेको हिस्सा ८० प्रतिशत छ भने बाँकी अन्य देशमा गएका छन्।

विभागका महानिर्देशक उमाकान्त आचार्यले भन्नुभयो, “मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ ।”पछिल्लो समय साउदी जानेको सङ्ख्या भने घटेको छ।

 

माघमा मात्रै पाँच हजार ८३७ महिलासहित ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो सङ्ख्या वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो । सो अवधिमा नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार १२४ जना रहेको छ ।

सात महिनामा सबैभन्दा धेरै मलेसियामा जानका लागि श्रम स्वीकृति लिएका छन् । मलेसियाका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या २० हजार छ । सो अवधिमा कतारका लागि १२ हजार ७०४, साउदीका लागि १० हजार ५७६, संयुक्त अरब इमिरेट्स (यूएई) नौ हजार ७७० र कुवेतका लागि दुई हजार ९९२ जनाले श्रम स्वीकृति लिएका छन्। पछिल्लो पटक विगतको तुलनामा युरोप र एसियाली मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीमा जानेको सङ्ख्या बढ्न थालेको छ ।

गत माघ महिनामा रोमानिया जान ८०४, जापान ८८२, साइप्रस ४१७, क्रोएसिया ४७१, माल्टा २७०, पोल्यान्ड ७२० र पोर्चुगल जान ४५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

त्यसो त पछिल्लो समयमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर १२० देशमा नेपाली पुगेका छन् । श्रम स्वीकृति नलिई जानेको सङ्ख्या पनि हजारौँमा छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतजस्ता मुलुकमा पनि नेपाली काम गर्न गएका छन् । यी मुलुकमा डिपेन्डेन्टका रूपमा काम गर्न जाने धेरै छन् ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने प्रत्येक मन्त्रीले बाध्यात्मक वैदेशिक रोजगारलाई शून्यमा झार्ने र स्वदेशको रोजगारीलाई प्राथमिकता दिने विषयलाई प्राथमिकतामा पारेको पाइन्छ । गत महिना १९ दिन श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका डोलप्रसाद अर्यालले पनि यही कुरालाई निरन्तरता दिनुभयो । स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या हेर्दा त तत्काल बाध्यात्मक वैदेशिक रोजगारी रोकिने अवस्था नदेखिने सरोकारवाला बताउँछन् ।

 

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङले स्वदेशमा रोजगारीका विकल्प तयार नगरी बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा तत्काल सम्भव नदेखिएको टिप्पणी गर्नुभयो। विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिक र मङ्सिरमा ६८/६८ हजार, पुसमा ६५ हजार र माघमा ६४ हजारले श्रम स्वीकृति लिएका गोरखापत्र अनलाइनमा खबर छ। सरकारले हालै मात्र वैदेशिक रोजगारीमा जानेका लागि सातै प्रदेशबाट सबै सेवा दिने व्यवस्था लागू गरेको छ। यसले आगामी दिनमा विदेश जानेको सङ्ख्या झनै बढ्ने सम्भावना देखिन्छ । सरकारले गत महिनादेखि विराटनगर, जनकपुर, पोखरा, भैरहवा, सुर्खेत र धनगढीबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सम्पूर्ण व्यवस्था गरेको छ ।