दुई महिनामा भित्रिए १ लाख २८ हजार ३२९ पर्यटक, बढ्न थाले चिनियाँ
2023-03-02 18:10:35cri
Share with:

सन् २०२३ को दुई महिनाको अवधिमा १ लाख २८ हजार ३२९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार जनवरी र फेब्रुअरीमा उक्त संख्यामा पर्यटक नेपाल आएका हुन् । जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए । फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ।

चीन सरकारले ६ फेब्रुअरीबाट आफ्ना नागरिकलाई भ्रमणमा जान खुला गरेको छ । यसको सकारात्मक प्रभाव नेपालमा समेत देखिन थालेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । समग्रमा भने भारत र अमेरिकी पर्यटकको संख्या बढी देखिएको छ।

फेब्रुअरी २०२३ मा २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । अघिल्लो महिना (जनवरी) मा भने १ हजार ४३६ जना चिनियाँ पर्यटक नेपाल आएको तथ्यांक छ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२० पछि यस वर्ष फेब्रुअरीमा सबैभन्दा धेरै संख्यामा पर्यटक भित्रिएका छन्। सन् २०२० को फेब्रुअरीसम्म कोभिड १९ को प्रभाव र यात्रामा प्रतिबन्ध थिएन। त्यसपछिको महिनामा भने यात्रामै प्रतिबन्ध लागेको अनखबरले लेखेको छ। तथ्यांकअनुसार सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७६६, सन् २०२१ को फेब्रुअरीमा ९ हजार १४६ र सन् २०२० को फेब्रुअरीमा भने ९८ हजार १९० जना पर्यटक नेपाल आएका थिए । सन् २०१९ को यसै महिनामा १ लाख २ हजार ४२९ जना पर्यटक नेपाल आएका थिए ।

नेपाल भ्रमणमा आउने विदेशी नागरिकमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा माथि छ। फेब्रुअरी २०२३ मा मात्र भारतबाट १८ हजार ४०१ जना पर्यटक नेपाल आएका छन्। दोस्रो स्थानमा अमेरिकी नागरिक छन्। यस महिनामा अमेरिकाबाट ७ हजार ८८७ जना पर्यटक नेपाल आएका छन्। तेस्रो स्थानमा थाइल्याण्ड छ। चौथोमा बेलायत छ। दक्षिण कोरियाबाट एक महिनामा ३ हजार २४६ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ। यस महिना अष्ट्रेलियाबाट २ हजार ९६९, चीनबाट २ हजार २६६, म्यानमारबाट २ हजार २३२, श्रीलंकाबाट २ हजार १७५ र जर्मनीबाट २ हजार १०८ जना पर्यटक नेपाल आएका छन्।