माथिल्लो त्रिशूली–१ को जलविद्युत आयोजनाको डाइभर्सन सुरुङ सम्पन्न
2023-03-03 18:34:14cri
Share with:

रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बाँधलगायत संरचना (हेडवक्र्स) निर्माणका लागि नदी फर्काउने डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ। रसुवाको आमाछोदिङ्मा गाउँपालिका–१, हाकुमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र पाँच मिटर व्यास भएको पूर्ण कङ्क्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको गोरखापत्र अनलाइनले लेखेको छ। 

सुरुङ निर्माण सम्पन्न भएपछि मङ्गलबारदेखि सोही सुरुङबाट नदी फर्काई बाँध निर्माण सुरु गरिएको आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताइ हक युनले बताउनुभयो। “आयोजना निर्माणका लागि एउटा माइलस्टोन पूरा भएको छ, मुख्य तथा प्रवेश सुरुङ, टेलरसहित सुरुङको जम्मा लम्बाइ १३ दशमलव पाँच किलोमिटर रहेकामा अहिलेसम्म चार दशमलव पाँच किलोमिटर सम्पन्न भएको छ। तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको छ,” उहाँले भन्नुभयो।

आयोजनाको समग्र भौतिक प्रगति १४ प्रतिशत रहेको छ। आयोजनाको मुख्य निर्माण २०७८ पुसदेखि सुरु गरिएको थियो। आयोजना निर्माणमा हाल करिब सात सय कामदार परिचालित छन्। 

त्यसमध्ये करिब तीन सय रसुवाका स्थानीय बासिन्दा छन्। आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसानले काम गरिरहेको छ। 

उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली–१ हालसम्मकै ठूलो जलविद्युत् आयोजना हो। 

आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी रहेको छ। आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ। 

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन्।