आठ महिनामै नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणमा ३५१ मेगावाट बिजुली थपियो
2023-03-03 18:35:40cri
Share with:

नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणमा गत साउनदेखि फागुनसम्म ३५१ मेगावाट विद्युत् थप भएको छ । प्रसारण लाइनमा जोडिएका १५ जलविद्युत् आयोजनाको २३१.०७ मेगावाट व्यावसायिक उत्पादन र कारोबारसमेत सुरु भइसकेको कान्तिपुर अनलाइनले लेखेको छ।

यसबाहेक ५ कम्पनीको १२० मेगावाट पनि जोडिएको हो । तर व्यावसायिक कारोबार भने थालेका छैनन् । परीक्षण अवधिको विद्युत् प्राधिकरणले निःशुल्क लिइरहेको छ । यससँगै हाल मुलुकमा २ हजार ५ सय ४४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

जलविद्युत्, सोलार र बगास (उखुको बोक्रा) को उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार प्राधिकरणको सोलार परियोजनाबाट २५ र निजी क्षेत्रको ४३ मेगावाट तथा बगास (उखुको बोक्रा) बाट ६ मेगावाटसहित कुल २५ सय ४४ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । राष्ट्रिय प्रसारण लाइनमा व्यावसायिक उत्पादन सुरु गर्नेमा सबैभन्दा ठूलो ३८ दशमलव ४६ मेगावाट क्षमताको माथिल्लो कलंगागाड जलविद्युत् आयोजना छ । यस आवमा व्यावसायिक उत्पादन गर्ने कम्पनीमा आवको सुरुवातमा अपी पावर कम्पनीको सिमरा सोलार आयोजनाको १ मेगावाट छ । पछिल्लोमा यसै महिना मथिल्लो कलंगागाड पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएका पाँच आयोजनाले १२०.१७ मेगावाट परीक्षण उत्पादन गरिरहेका छन्, जसमा सबैभन्दा धेरै हाइड्रो भेन्चर प्रालिको सोलुखोला आयोजनाको ८६ मेगावाट छ । यस्तै, विकास हाइड्रोपावर कम्पनीको ४ दशमलव ५५ मेगावाट, मायाखोला हाइड्रोपावर कम्पनीको १४.९ मेगावाट, मेन्छियम हाइड्रोपावर कम्पनीको अपर पिलुवा खोला–२ आयोजनाको ४ दशमलव ७२ मेगावाट तथा माकरीगाड हाइड्रोपावर प्रालिको माकरीगाड १ मेगावाट परीक्षण उत्पादनमा छ । अबको एक सातामा यी आयोजनाले पनि व्यावसायिक उत्पादन सुरु गर्ने कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो।

उहाँका अनुसार चालु आर्थिक वर्षमा हाल उत्पादनको अन्तिम तयारीमा रहेका आयोजनाको गरी थप २०० मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । ५५ मेगावाटको लिखु ए, ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् यसै आवमा थप हुनेछ । यस्तै उत्पादनको अन्तिम तयारीमा रहेका रुकुमगार्ड आयोजनाको ५ मेगावाट, कास्कीको सुपरमादी ४४ मेगावाट तथा लमजुङमा रहेको सुपरदोर्दी आयोजनाको ५४ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । ती आयोजनाको उत्पादन अबको करिब ३ देखि ४ महिनामा सुरु हुने प्राधिकरणको भनाइ छ ।

यस आर्थिक वर्षमा सोलारबाट राष्ट्रिय प्रसारण लाइनमा १० मेगावाट बिजुली थपिएको छ । व्यावसायिक उत्पादनतर्फ सिमरा सोलारको १ मेगावाट, ग्रिड कनेक्टेड सोलार आयोजनाको ५ मेगावाट तथा सोम राधाकृष्ण सोलारको ४ मेगावाट जोडिएको हो । त्यसैगरी नवलपरासीमा २ मेगावाट सौय ऊर्जाले परीक्षण उत्पादन सुरु गरेको प्राधिकरणले जानकारी दिएको छ ।