यो दौडमा कछुवा छैन, त्यसैले खरायो वर्ष!
2023-03-03 16:26:15cri
Share with:

———— अजय अलौकिक  

तपाईँलाई थाहा छ, सन् २०२३ खरायोको वर्ष हो। जनवरी २२ देखि सन् २०२४ फेब्रुअरी ९ सम्म खरायो वर्ष हो। चिनियाँ परम्परागत पात्रोअनुसार आइतबार जनवरी २२ बाट बाघ वर्षलाई बिदा गरी खरायो वर्षको स्वागत गरिनेछ। यसलाई चिनियाँ नयाँ वर्ष र वसन्त चाड पनि भनिन्छ।

नेपालमा पनि शेर्पा, तामाङ तथा गुरुङ समुदायले यसरी नै जनावरको नामबाट अघिपछि या सँगसँगै क्रमशः ग्याल्बो, सोनाम र तमु ल्होसार (नयाँ वर्ष) मनाउने गर्दछन्। यद्यपि चिनियाँले खरायो वर्षलाई स्वागत गर्दा नेपालमा भने बिरालो वर्ष मनाउने गरिन्छ। यसरी नै चिनियाँले मनाउने कुखुरा वर्ष र ड्र्यागन वर्षको ठाउँमा नेपालमा चरा र गिद्ध/गरूड प्रयोग भएको देखिन्छ।

चिनियाँमा यी १२ राशिका जनावरलाई १२ शङ स्याओ भनिन्छ। यी जनावरमा मुसाबाट सुरु भएर क्रमबद्ध रूपमा गोरू, बाघ, खरायो, ड्र्यागन, सर्प, घोडा, भेडा, बाँदर, कुखुरा, कुकुर हुँदै सुँगुरमा अन्त्य हुन्छ। एउटा बाह्र वर्षको चक्र रहेको छ।

साथै यी जनावरको पनि धातु (कतै सुन पनि लेखेको पाइन्छ), काठ, माटो (पृथ्वी), पानी, र आगो गरी पाँच तत्वहरू छन्। यसरी ६० वर्षको एक चक्र बनेको हुन्छ।

चिनियाँ राशिको १२ वर्षे चक्रमा खरायो चौथो स्थानमा छ। यसको पनि रोचक कथा तथा किंवदन्ती छन्। यसरी जनावरको क्रम स्थान दौडको नतिजाबाट भएको मानिन्छ। एउटा प्रचलित कथाअनुसार जेड सम्राट्द्वारा विभिन्न जनावरबीच एक दौडको आयोजना गरिएको र यसैको आधारमा यो सूची तयार भएको मानिन्छ।

त्यसैगरी अर्को एउटा दाबी पनि पाइन्छ। प्रत्येक जनावरको स्थान निश्चित समयसँग सम्बन्धित छ जुन जो प्रत्येक दिनको समयमा सबैभन्दा सक्रिय हुन्छ।

यसबाहेक समयको धारासँगै अघिपछि कैयन् अरू कथा पनि छन्। कथा, किंवदन्ती, कमिक्स र कार्टुनहरूमा खरायोको व्यापक प्रयोग भएको पाइन्छ नै। कछुवा र खरायोको दौड प्रतियोगिताको कथा निकै चर्चित र सन्देशमूलक पनि छ। सायद सबैले यो कथा पढेका पनि छन्। तर यहाँको दौडमा भने कछुवा छैन।

यस्तै कुराकानी साथी ली छेनसँग भएको थियो गत शनिबार। चिनियाँले कछुवालाई दीर्घायुको प्रतीकको स्वरूपमा लिन्छन्। सौभाग्य, निरोगी र दीर्घ आयुको कामना गर्दै कछुवालाई घरमा पनि पाल्छन्। तर यो राशिको दौडमा किन नभएको होला? उनीसँग मेरो प्रश्नको उत्तर त थिएन। तर उनले हाँस्दै भने, कछुवा भएको भए अवश्य पनि खरायो कछुवा पछिको स्थानमा आउने थियो। उनको कुरा सुनेर हामी दुवै गलल हाँस्यौँ।

अनि यस वर्ष पानी खरायोको वर्ष हो, जसले आशा र समृद्धिको प्रतिनिधित्व गर्दछ। विश्वव्यापी फैलिएको कोरोना महामारीसँगको लडाइँपछि अवश्य पनि यो वर्षले हामीलाई सुख, समृद्धि तथा नयाँ अवसरहरूसँग जोड्नेछ।

चिनियाँ राशिअनुसार  यो वर्ष (जनवरी २२, २०२३-फेब्रुअरी ९, २०२४) पानी खरायोको वर्ष हो। खरायोका वर्षहरूमा सन् १९०३, १९१५, १९२७, १९३९, १९५१, १९६३, १९७५, १९८७, १९९९, २०११, २०२३ पर्छन्। यस क्रममा, यो साल र १९६३ मा जन्मिने पानी खरायो हुन्, २०११, १९५१ मा जन्मिने धातु, १९९९, १९३९ को माटो या पृथ्वी, १९८७, १९२७ आगो, १९७५, १९१५ काठ खरायो हुन्।

यसरी विभिन्न तत्त्वको खरायो वर्षमा जन्मिने मानिसको स्वभाव, आचरण, भाग्य, विशेषतामा पनि केही भिन्नता पाइन्छ। तर बटमलाइन, खरायो वर्षमा जन्मिएका व्यक्तिहरू सभ्य र कोमल हुन्छन्।

साथै चिनियाँ मानिसका लागि खरायो आशा र जीवनको प्रतिनिधित्व गर्ने एक घरपालुवा प्राणी हो। यो कोमल र सुन्दर हुन्छ। चिनियाँ किंवदन्तीमा समेत चन्द्रमादेवी छाङअको पाल्तु जनावरको रूपमा खरायो रहेको उल्लेख छ। खरायो सदा शुद्धता र सौभाग्यको प्रतीक पनि हो।

अनि के तपाईँ खरायो वर्षमा जन्मिनुभएको हो कि? हो भने खुसी नहुनुस् नि फेरि। मुख्यतया आफ्नो जन्मदिवस, जन्मबार र महिना पनि हामी फलिफाप हुन्छ भन्ने विश्वास गर्छौँ। धेरै मानिसको यही विश्वास हुन्छ कि उनीहरूको जन्म वर्ष या जन्मचिह्न वर्ष उनीहरूका लागि भाग्यशाली हुनेछ। तर चिनियाँ संस्कृतिमा यो ठ्याक्कै उल्टो छ।

खरायो वर्षमा जन्मिएकालाई यो वर्ष कस्तो हुन्छ?

चिनियाँ संस्कृतिमा आफ्नो जन्म वर्षमा झनै सावधानी अपनाउनुपर्ने हुन्छ। आफ्नो जन्म चिह्नको वर्षमा दुर्भाग्य हुने समेत बताइन्छ। तर आत्तिनुपर्दैन। यसको उपचार या यस्तो क्लेश र दुर्भाग्य तथा दोष हटाउने उपाय पनि छ।

आफ्नो जन्म वर्षको पूर्वसन्ध्यामा रातो रङ्गका भित्री कपडा लगाउने हो भने यस्तो दुर्भाग्य, दोष, दुःखबाट राहत पाउने तथा सौभाग्य ल्याउने भन्ने गरिन्छ। चिनियाँहरू यस्तै रातो पहिरनको कपडा लगाउन सल्लाह दिन्छन्। त्यसै चाडको उल्लासमा राताम्मे बजार त्यसमाथि पसल पसलमा राता कपडाहरू सजाइएका देख्न सकिन्छ। अनि भीड पनि उस्तै देखिन्छ। यसबाहेक आफ्नो जन्म वर्षपछिको आउने वर्ष प्राय: धेरै सौभाग्य र स्थिरताको हुने मानिन्छ।

यसबारे पनि लीले नै सुनाएका थिए, धेरै वर्षअघि। ठ्याक्कै बाह्र वर्षभए छ। वसन्त चाडको पूर्वसन्ध्यामा हामी केही साथीहरू भेला भएका थियौँ। मःम बनाउने, खाने अनि पटाका पड्काउने र बेइजिङ सहरमा हुने आतिसबाजी हेर्ने प्रोग्राम थियो। सोही भेलामा चिनियाँ राशिअनुसार म खरायो भएको बताएको थिएँ। त्यसलगत्तै उनले भनेको अझै सम्झना छ, अजय, रातो अण्डरवयर लगाएका छौ। हामी केही उनको यो बोली सुनेर अचम्म मानेका थियौँ। जो जसको जन्म चिह्न वर्ष हो, त्यसले रातो मोजा अनि भित्री वस्त्र लाउने चलन रहेछ।

भर्खरै, अफिसमा पनि सहकर्मी कू छनसीले म खरायो भन्ने थाहा भएर रातो भित्री वस्त्र लगाउँदा सौभाग्य, समृद्धि भित्रिने सुनाएकी थिइन्। यस्तो परम्परा, चलन या अन्धविश्वास रहेछ। सौभाग्य निम्त्याउने भएपछि मैले पनि रातो भित्री कपडा किन्ने विचार गरेँ। तर यो के वर्षभरि लाउने या पहिलो दिन मात्रै लगाउने मनमा प्रश्न उब्जियो। अनि कू छनसीले हल्का गरिदिइन् मेरो मन। विशेषतः नयाँ वर्षको पहिलो दिन लगाउने चलन रहेछ। ल है, यदि तपाईँ पनि खरायो वर्षमा जन्मिनुभएको हो भने जनवरी २२ मा रातो रङका भित्री वस्त्र लगाउनु लाभकारी हुने चिनियाँ विश्वास छ।

साथै आमचिनियाँका लागि वसन्त चाड त्यसै पनि वर्षभरिको सबैभन्दा महत्त्वपूर्ण चाड त्यसमाथि यसपटक निकै अर्थपूर्ण भएको छ। पछिल्ला तीन वर्षसम्म (कोभिड-१९) कोरोना महामारीका कारण चिनियाँले सहजसँग पारिवारिक भेटघाट तथा जन्मथलो फर्किन पाएका थिएनन्। महामारी नियन्त्रण र प्रतिरोध कार्य नयाँ चरणमा प्रवेश भएपछिको यो पहिलो वसन्त चाड हो। यसपालि सबैजना खरायोजस्तै बुर्लुक्क उफ्रिन पाएका छन्। त्यही भएर यस पटकको वसन्त चाडको अवधिमा झण्डै २ अर्ब ९५ करोड यात्रुको आवतजावत हुने अनुमान छ। यसै गरी, अर्थतन्त्र पनि चलायमान खरायोजस्तै हुने अपेक्षा गरिएको छ।

यो खुकुलो नीतिअघि, डिसम्बरको पहिलो सातासम्म धेरै ठाउँमा तीन दिनभित्रको न्युक्लिक परीक्षण देखाउनुपर्ने र कतै संक्रमित भइन्छ कि भन्ने डरले आवतजावत पनि सहज लाग्दैनथ्यो। अहिले रेल, बस चढ्न सहज छ र भाइरस पनि क्षीण भइसकेको अवस्था र विज्ञहरूले साधारण रोगको रूपमा व्याख्या गरिसकेपछि डराउनुपर्ने आवश्यकता पनि रहेन।

अहिलेको यो खुकुलो नीति शून्य नीतिको सफलतापछि ल्याएको भन्दै यसबाट धेरै मानिसहरू जोगेकोमा सरकारप्रति उच्च सम्मान भएको ली बताउँछन्। बेइजिङ र चीन पुरानो लयमा फर्किसकेको भन्छन्।

अनि मिस्टर लीको बारेमा भन्नुपर्दा बेइजिङका रैथाने उनी संगीतका सौखिन र देशदेशान्तर घुमिरहन्छन्। उनी मेरो पुराना मित्र हुन्। एक त शनिबारको दिन अनि अहिले आवतजावतमा कहीँकतै रोकटोक नभएकोले हाम्रो भेट धेरै वर्षपछि भएको हो।

हो, चीनले तीन वर्ष लामो लडाइँ लडेर महामारी र यसका भाइरसलाई शक्तिहीन बनाएको छ। जनताको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकताको पहिलो स्थानमा राखेर चीनले महामारीको अन्त्य गर्न जोडतोडले लागिपरेको थियो। बेइजिङमा रहेका नेपालीको जमघटमा यस्तै सुन्न पाइन्छ। उहिले रोग खुट्याउन नसकिएको अवस्था र खोप पनि नबनेको अवस्थामा चीनले चालेको कदम सराहनीय थियो र हाल सामान्य रोगको अवस्था भएपछि मानिसको स्वास्थ्यमाथि गम्भीर हानि नहुने भएपछि नै यो खुकुलो नीति ल्याएको हो।

सोही कारण आज आमचिनियाँ खुसीका साथ आफ्नो महत्त्वपूर्ण चाड मनाउने तरखरमा छन्। वस्तुतः विश्वभर २ अर्ब मानिसहरूले खरायो वर्षलाई स्वागत गर्ने छन्। यो नयाँ वर्ष या चिनियाँ वसन्त चाड जे जसो भनिए तापनि यस्ता सबै पर्वको सार भनेको पारिवारिक पुनःमिलन हो। पितृ, पूर्वजको सम्मान, भोजभतेर, भेटघाट र रमाइलो मान्नु नै चाडपर्वको विशेषता हो। साथै यो वसन्त चाड जाडोको अन्त्य र वसन्तको सुरुवातको संकेत पनि हो। वसन्त चाडको शुभकामना!

(हिमालप्रेसमा ८ माघ, २०७९ मा प्रकाशित)