विदेशी पर्यटकलाई विनागाइड पदयात्रामा जान रोक
2023-03-05 16:15:24cri
Share with:

नेपालमा अब विदेशी पर्यटकले विनागाइड पदयात्रामा जान नपाउने भएको छ । नेपाल पर्यटन बोर्डले १ अप्रिल २०२३ देखि लागु हुने गरी यस्तो निर्णय गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो। नेपालमा कोभिड-१९ भन्दा अगाडि सन् २०१९ मा ४६ हजार १४२ पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आएका थिए। सन् २०२२ मा यो संख्या १९ हजार ४२५ थियो । यस्ता पर्यटकले नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाने गरेका थिए ।

 

यस्ता पर्यटक पदयात्राका दौरान बढी असुरक्षित हुने र समस्या पर्दा उद्दारमा पनि समस्या हुने अवस्था दोहोरिएपछि गन्तब्यलाई अझ बढी सुरक्षित बनाउन यस्तो निर्णय लिनु परेको लामिछानेले बताउनुभयो। ‘गन्तब्यलाई सुरक्षित, उद्दारमा सहज र व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय भएको हो,’ उहाँले भन्नुभयो, ‘यो निर्णय नेपालमा रोजगारी सिर्जनामा समेत फलदायी हुनेछ ।’ यससँगै अब एफआईटीका लागि जारी हुने टिम्स कार्ड जारी नहुने भएको छ । पर्यटकले ट्रेकिङ कम्पनीमार्फत नेपाल आएर गाइड लिएर मात्र पदयात्रामा निस्कनु पर्ने भएको छ ।

 

अनलाइनखबरका अनुसार बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्नेछ । यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति १ हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउँथे । अब भने सबै पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति २ हजार रुपैयाँ पुर्‍याइएको छ । अर्थ मन्त्रालयबाट शुल्क बढाउने स्वीकृति लिएर पर्यटन मन्त्रालयको सहमतिमा टिम्स कार्डको मूल्य बढाउने निर्णय भएको निर्देशक लामिछानेले बताउनुभयो। बोर्डको यस निर्णयले गन्तब्यलाई केही महँगो बनाउने छ। सबै प्रावधान १ अप्रिलदेखि लागु हुने भएका छन् ।