पर्यटकको रोजाइमा ‘अर्गानिक खान्की’
2023-03-05 16:17:38cri
Share with:

उत्पादन घट्दै गएको जुम्ली रैथाने बालीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको छ । स्वास्थ्यका लागि लाभदायिक र स्वादिष्ट हुने भएकाले जुम्ला आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा जुम्ली रैथाने अन्नबाली परेको हो । माग बढ्दो भए पनि आपूर्ति न्यून छ ।

उत्पादन वर्षेनी घट्दै गएको छ । खेतीयोग्य जमिन बाझिने क्रम बढ्दो छ । युवा पलायन रोक्ने सरकारको ठोस नीति छैन । जसका कारण उत्पादन वर्षेनी घट्दो । यद्यपि जुम्ली रैथाने उत्पादनको माग भने थेगी नसक्नु छ । जुम्लास्थित चन्दननाथ मिनी मार्केटले दुई वर्षमा झण्डै एक करोड १५ लाख बढीको जुम्ली रैथाने अन्नबाली बिक्री गरेको छ ।

चन्दननाथ बहुउद्देश्यीय सहकारीबाट सञ्चालित मिनी मार्केटले एक वर्षमा एक करोड १५ लाख १० हजारको रैथाने अन्न मार्सी चामल, सिमी, चिनो, कागुनो, फापर, स्याउका चाना, महलगायतका विभिन्न वस्तु निर्यात भएको मिनी मार्केटका इन्चार्ज इश्वरीनन्द उपाध्यायले बताउनुभयो। मिनी मार्केट सञ्चालन गर्दा एक करोड ९५ लाख ६ हजार ५ सय ६० रुपैयाँको रैथाने अन्न खरिद गरिएकोमा हालसम्म एक करोड १५ लाख १० हजारको सामान बिक्री भएको हो। मिनी मार्केटमा अब ८० लाख ४२ हजारको सामग्री मौज्दात छ।

जुम्लामै लेबलिङ प्याकेजिङ गरेर बिक्री हुन्छ भने अर्डरअनुसार सुर्खेत नेपालगन्ज, काठमाडौँ, विराटनगर, बुटवल धनगढीलगायतका सहरमा निर्यात हुँदै आएको चन्दननाथ सहकारीका प्रबन्धक रिसिराम पाण्डेले बताउनुभयो। उहाँका अनुसार हालसम्म ३५ लाखको खरायोको टोपीमात्रै बिक्री भइसकेको छ । खरायो पालनमा वृद्धि नहुँदा मागअनुसार टोपी पुर्याउन नसकेको कारोबार अनलाइन लेख्दछ।

कर्णाली समृद्धिको प्रमुख आधारमध्ये एक हो कृषि क्षेत्र । कृषिमा आत्मनिर्भर कर्णालीलाई प्रदेश सरकार र यहाँका ७९ वटै स्थानीय तहले आवश्यक नीति कार्यक्रम र लगानी बढाउन सके आयात प्रतिस्थापन गर्नसक्ने अधिकतम सम्भावना छ । उत्पादन बढाउने नीति र उत्पादित वस्तुको बजारको अभावले कर्णालीका खाद्यान्न बाली निर्यात हुन सकेको छैन। आफ्नै उत्पादनले ५÷६ महिना नपुग्ने कर्णाली आयातकै भरमा निर्भर छ।