सेल रोटी र रसुवाको पानीसहित चीनमा मनाइयो नेपाली होली
2023-03-06 16:23:23cri
Share with:

चीनको सछ्वानमा नेपाली परिकार र पानीको स्वाद चखाउँदै नेपाली होली मनाइएको छ। छङ्तूका लागि नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेले उद्घाटन गरेपछि आइतबार सुरु भएको होली पर्वको विशेष कार्यक्रमका सहभागीहरुलाई सेल रोटी, तिलको लड्डु, अचार, पकौडा, रसुवाको पानीलगायतका नेपाली परिकार खुवाइएको नेपाल समाज अनलाइनले लेखेको छ।

छन्तुस्थित नेपाली महावाणिज्यदूतावासको समन्वयमा नेपाल राष्ट्रिय मण्डपले आयोजना गरेको होलीमा नेपाल, चीन, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, सिंगापुर, इण्डोनेसियालगायत झण्डै एक दर्जन मुलुकका दुई सय बढीको सहभागिता रहेको थियो।

होलीकै अवसरमा हिमालय हस्तकला प्रदर्शनीको पनि आयोजना गरिएको थियो। सहभागीहरुलाई नेपाली हस्तकला सिङ्गिङ बौउल र त्यसको उपचार पद्धतीका बारेमा प्रयोगात्मक जानकारी दिइएको थियो। नेपाली होलीको उद्घाटन कार्यक्रममा महावाणिज्यदूत घिमिरेले खुशी बाँड्ने र मित्रतालाई मजबुत बनाउने एउटै उद्देश्का साथ विभिन्न देश तथा क्षेत्रका होली प्रेमी र उत्साहीहरुको भीड देखेर खुशी भएको बताउनुभयो।

विभिन्न ठाउँमा होली फरक फरक तरिकाले मनाइने भए पनि सबै ठाउँमा अबीर रंग दल्ने, पानी छर्कने र नाचगान गर्दै प्रेम, सद्भाव र उत्साहपूर्वक मनाइने यो पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व रहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, ‘असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने यस पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ एकआपसमा अबिर तथा रङ दलेर रमाइलो गरिन्छ।’

नेपालको पर्यटन, कला, संस्कृति, इतिहास, भूगोलकाे जानकारी दिने उद्देश्यले दुई वर्षअगाडि नेपाल राष्ट्रिय मण्डप सञ्चालनमा आएको हो। मण्डपमा नेपालको हस्तकलाका सामग्री, चिया, पानीको साथै पर्यटकीय तथा संस्कृतिक महत्वका फोटो तथा भिडियो प्रदर्शनीमा राखिएका छन्।