चीनको सिचुवान एयरलाइन्सले काठमाडौँ छङ्तु उडान पुनः सुरु गर्ने
2023-03-08 16:28:07cri
Share with:

चीनको हवाई कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गर्ने भएको छ। कोरोना महामारीका कारण २०७८ माघ अन्तिमदेखि काठमाडौँ उडान बन्द गरेको सिचुवानले यही चैत ६ गतेदेखि पुनः उडान सुचारु गर्न लागेको हो। कम्पनीले चीनको छङ्दुबाट सोमबार, बुधबार, शुक्रबार र आइतबार गरेर साताको चार उडान गर्न लागेको गोरखापत्र अनलाइनले लेखेको  छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ३:३५ मा उडान भर्ने उक्त जहाज चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार रातिको ९ बजे अवतरण गर्नेछ। अस्ट्रेलिया र जापान भ्रमणका लागि छेङ्दु ट्रान्जिट भएर जाने यात्रुको सुविधालाई ध्यानमा राख्दै काठमाडौँदेखि मेलबर्नसम्मको एकतर्फी भाडा ७९ हजार ९९९ रुपियाँ र काठमाडौँदेखि नारितासम्मको एकतर्फी भाडा ६५ हजार ९९९ रुपियाँ रहेको कम्पनीले जनाएको छ।

त्यस्तै उडानमा ४६ केजी चेकइन लगेज र सात केजी ह्यान्ड क्यारी लान मिल्ने पनि कम्पनीले जनाएको छ। यो हवाई सेवाको सुरुवातसँगै मेलवर्नसम्म यात्रा गर्ने यात्रुले छेङ्दुमा साढे चार घण्टाको ट्रान्जिट पर्खिनुपर्नेछ। नेपालमा सिचुवान एयरलाइन्सको प्रतिनिधित्व सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजले जनरल सेल्स एजेन्टका रूपमा काम गर्दै आएको छ।

महामारीअघि नेपालमा चीनबाट चाइना एयरलाइन्स, चाइना इस्टर्न, चाइना साउथन र सिचवान एयरलाइन्सले उडान भर्दै आएका थिए। चाइना एयरलायन्सको गत जेठबाटै छेङ्दु–काठमाडौँ पुनः उडान सुरु गरिसकेको छ। त्यस्तै चाइना साउथनले पनि गत मङ्सिर दोस्रो सातादेखि पुनः क्वाङचौ–काठमाडौँ उडान गर्दै आएको छ। 

गर्मीयाम (समर सेड्युल)अनुसार चाइना इस्टर्नले पनि उडान अनुमति मागेको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ। नेपालबाट हिमालय एयरलाइन्सले चीनको खुन्मिङमा उडान गर्दै आएको छ।