काठमाडौँ केरुङ रेलमार्ग अध्ययन गर्ने चिनियाँ प्राविधिक टोली नेपाल फर्कियो
2023-03-12 17:18:44cri
Share with:

काठमाडौँ केरुङ रेलमार्ग अध्ययन गर्ने चिनियाँ प्राविधिक टोली नेपाल फर्किएको छ। चीनको नयाँ वर्ष मनाएर ९ जनाको प्राविधिक टोली अध्ययनका लागि नेपाल आएको हो। गत पुस १२ गते सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको टोली पहिलो चरणमा अध्ययन गर्ने स्थानको सामान्य निरीक्षण गरी चीन गएको थियो।

करिब दुई महिनापछि फर्किएको ९ जनाको प्राविधिक टोली एक साताभित्र अध्ययनका लागि फिल्डमा जाने तयारीमा रहेको रेल विभागका महानिर्देशक रोहित बिसुरालले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। ‘प्राविधिक टोलीले अध्ययनको काम अघि बढाउने छ,’ उहाँले भन्नुभयो, ‘हेलिकप्टर, हवाई जहाज, ड्रोनका माध्यमबाट समेत अध्ययन गरिने छ।’ अध्ययनमा आवश्यकता अनुसार प्राविधिक विज्ञ थपिँदै जाने उहाँको भनाइ छ। यसअघि पुस तेस्रो साता चिनियाँ प्राविधिक टोली ‘फिल्ड सर्भे’ का लागि रसुवागढी पुगेको थियो।

टोलीले स्याफ्रुबेसी, धुन्चे र रसुवागढीलगायतका ठाउँको सर्भे गरेर फर्किएको थियो। सुरुमा ‘चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपको ६ जना प्राविधिक टोली सर्भेका लागि आएको थियो। अहिले पनि त्यही कम्पनीको प्राविधिक टोली अध्ययनका लागि आएको हो। प्रारम्भिक अध्ययन अनुसार यसको सम्भाव्यता अध्ययन सक्न ४२ महिना लाग्ने छ।

सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, लागत, सुरुङ, पुलको उचाइ, स्टेसन लगायत विषय टुंगिने छ। २०७८ चैतमा काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्नेगरी दुई देशबीच औपचारिक सहमति भएको थियो । २०७६ असोजमा चीनका राष्ट्राध्यक्ष सी चीनफिङले गर्नु भएको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति जुटेको थियो । प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौँसम्म ७२ किलोमिटर दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्ने छ। जसलाई छेडेर रेलमार्ग बनाइनेछ । यसको अध्ययन चीनले आफ्नै खर्चमा गर्ने छ। उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।