नेपालमा सहज बन्दै विदेशी मुद्रा सञ्चिति
2023-03-13 15:18:55cri
Share with:

आयात अत्यधिक बढेपछि अघिल्लो वर्ष यसै समयमा विदेशी मुद्रा सञ्चिति घट्दो प्रवृत्तिमा थियो । अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने विदेशी मुद्राको सञ्चितिलाई सुधार गर्न सरकारले वैशाखदेखि १० वस्तुको आयातमा प्रतिबन्ध नै लगायो । त्यसअघि नेपाल राष्ट्र बैङ्कले आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्दै झन् कडाइ गरेको थियो । विदेशी मुद्रा सञ्चिति दबाबमा परेको त्यस्तो अवस्थाबाट परिस्थितिमा अहिले धेरै सुधार आइसकेको छ। आयातमा लगाइएको प्रतिबन्ध र मार्जिनको व्यवस्थाले सञ्चितिमा सुधार मात्र ल्याएन, परिस्थिति सहज भएपछि सरकारले अहिले दुवै व्यवस्था खारेजसमेत गरिदिएको छ ।

 नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार मुलुकसँग १० अर्ब ५० करोड अमेरिकी डलर बराबरको विदेशी मुद्रा डलर सञ्चिति छ । यो रकम चालू आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा १० महिना २४ दिनको वस्तु आयात धान्न पर्याप्त हुने केन्द्रीय बैङ्कले जनाएको छ । त्यस्तै यो सञ्चितिबाट नौ महिना १२ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ।

राष्ट्र बैङ्कका अनुसार गत असार मसान्तको तुलनामा माघसम्म आइपुग्दा विदेशी मुद्रा सञ्चिति ९६ करोड डलरले बढेको छ । असार मसान्तसम्म मुलुकसँग नौ अर्ब ५४ करोड डलर सञ्चिति थियो ।

पछिल्ला केही महिनायता सञ्चितिमा आएको यस्तो सुधारले विदेशी मुद्रा सहज बन्दै गएको छ । अहिले रहेको कुल सञ्चितिमध्ये राष्ट्र बैङ्कसँग नेपाली मुद्रामा १२ खर्ब २८ अर्ब रुपियाँ छ भने बैङ्क तथा वित्तीय संस्थासँग एक खर्ब ५५ अर्ब रुपियाँ रहेको गोरखापत्र अनलाइनमा खबर छ।

यसैबीच अघिल्ला महिना ८ प्रतिशत नाघेको मूल्य वृद्धि माघसम्म आइपुग्दा ७ दशमलव ८८ प्रतिशतमा झरेको छ । यो सरकारले लिएको लक्ष्यको सीमाभित्रै हो ।

चालू आर्थिक वर्षको बजेटमा सरकारले मूल्य वृद्धि ८ प्रतिशतमा सीमित राख्ने लक्ष्य निर्धारण गरेको थियो । यद्यपि अघिल्लो वर्षको माघको तुलनामा भने अहिलेको मूल्य वृद्धि बढी हो । गत माघमा मूल्य वृद्धिदर ६ दशमलव २४ प्रतिशत थियो ।

राष्ट्र बैङ्कका अनुसार माघसम्म विप्रेषणमा व्यापक वृद्धि भएको छ । अघिल्लो माघको तुलनामा विपे्रषण २७ दशमलव १० प्रतिशतले बढेर छ खर्ब ८९ अर्ब ८८ करोड रुपियाँ पुगेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । जब कि गत माघमा विपे्रषण ४ दशमलव ४०  प्रतिशतले घटेको थियो । समीक्षा अवधिसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या पनि ५७ दशमलव ३ प्रतिशतले बढेर तीन लाख १४ हजार नाघेको छ । त्यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि १० प्रतिशतले बढेर करिब एक लाख ६८ हजार पुगेको छ।

राष्ट्र बैङ्कका अनुसार माघसम्म नेपालको शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब रुपियाँले बचतमा छ । यसले मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी भएको देखाउँछ । अघिल्लो वर्ष माघमा भने शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब रुपियाँले घाटामा थियो । चालू खाता भने २९ अर्ब ६४ करोड रुपियाँले घाटामा छ । यो गत आर्थिक वर्षको तुलनामा भने निकै सुधार हो । गत माघसम्म नेपालको चालू खाता चार खर्ब ११ अर्ब रुपियाँले घाटामा थियो। यस अवधिमा सेवा खाताअन्तर्गत भ्रमण आय १०७ दशमलव ४० प्रतिशतले बढेर ३२ अर्ब २४ करोड रुपियाँ पुगेको छ । भ्रमण व्यय पनि ५६ दशमलव ६० प्रतिशतले बढेर ६२ अर्ब रुपियाँ पुगेको छ ।

माघसम्म नेपालको अन्तर्राष्ट्रिय व्यापारमा गिरावट आएको छ । उक्त अवधिसम्म निर्यात २९ प्रतिशतले घटेर ९३ अर्ब ४३ करोड रुपियाँ कायम भएको छ । भारततर्फ ३७ दशमलव ७० प्रतिशत र चीनतर्फ १३ दशमलव ४० प्रतिशतले निर्यात कम भएको छ । यस अवधिमा जिङ्क सिट, अलैँची, ऊनी गलैँचाको निर्यात बढ्दा सोयाबिन तेल, पाम तेल, पिनाको निर्यात घटेको छ।