नेपालमा चिनियाँ बैंकको शाखा विस्तार गर्न अध्ययन जारी
2023-03-14 16:26:20cri
Share with:

दुई देशबीच व्यापारमा भुक्तानीको समस्या रहेको भन्दै व्यवसायीले लामो समयदेखि माग गरिरहेको चिनियाँ बैंकको शाखा स्थापनाका लागि चिनियाँ पक्ष सकारात्मक देखिएको छ। नेपाल भ्रमणमा रहेको चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)का उच्च अधिकारीले नेपालसहित दक्षिण एसियाली मुलुकमा बैंकिङ सेवामा सहजीकरण गर्ने सम्बन्धमा अध्ययन भइरहेको जनाएका छन्।

'नेपालमा मात्र नभई दक्षिण एसियाभर नै चिनियाँ बैंकको सेवाका लागि माग भइरहेको छ,' सीसीपीआईटी उपाध्यक्ष चाङ साओकाङले सोमबार नेपाल चीन उद्योग वाणिज्य संघको कार्यक्रममा भन्नुभयो, 'यसमा हामी गम्भीर छौं र हामीले अध्ययन पनि गरिरहेका छौं। चाँडै नै यो विषय सकारात्मक रुपमा सम्बोधन हुने विश्वास छ ।'

सीसीपीआईटीका उपाध्यक्ष साओकाङले चिनियाँ बैंकको सेवा विस्तार गर्नुपूर्व यस क्षेत्रको बजारको आकार, चीनसँगको आर्थिक कारोबारको माग तथा स्थानीय बैंकहरुसँगको सहकार्यजस्ता विषयमा अध्ययन भइरहेको जानकारी दिनुभयो। नेपाललगायत दक्षिण एसियामा व्यावसायिक सहकार्यको उच्च सम्भावना रहेकाले बैंकिङ सेवा विस्तारको विषयलाई आफूहरुले सकारात्मक रुपमा लिइरहेको उहाँको भनाइ छ । छलफलमा नेपाली व्यवसायीहरुले चीनसँगको कारोबारमा भइरहेको भुक्तानीको समस्यालाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका थिए। सात सदस्यीय टोलीले चार दिन नेपालको व्यावसायिक संस्था तथा विभिन्न सरकारी प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको कान्तिपुर अनलाइनले जनाएको छ।

नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले कोभिडपछि सुस्ताएको नेपार चीनबीचको आर्थिक सम्बन्ध पछिल्ला दिनमा सुधार हुँदै गएको बताउनुभयो।

'चीनसँगको व्यापारिक सम्बन्धमा वृद्धि, चिनियाँ पर्यटकको संख्या बढ्दै गएको जस्ता विषय हाम्रा लागि सुखद् पक्ष हुन्,' अध्यक्ष तुलाधरले भन्नुभयो, 'हामी चीनसँग दिगो आर्थिक साझेदारी गर्न चाहान्छौं। यसका निमित्त चीन र नेपालबीच कनेक्टिभिटी बढाउनुपर्ने आवश्यकता छ । हामीले स्थलसँगै हवाई सम्पर्कमा पनि उल्लेख्य वृद्धि गर्नुपर्ने जरुरी देखेका छौं ।'

सीसीपीआईटीका उपाध्यक्ष साओकाङले चीन नेपालको दोस्रो ठूलो आर्थिक साझेदार मुलुक रहेको स्मरण गर्दै लगानी र पर्यटनसँगै अन्य क्षेत्रमा पनि सहकार्य गर्न सकिने धारणा राख्नुभयो। चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न आतुर रहेको र प्रस्तावित रेलमार्गबाट जोडिन सके लाभदायक सहकार्य हुने उहाँको भनाइ छ ।

बीआरआईमार्फत दुई देशको व्यापारिक सम्बन्धमा गुणस्तरीय आयाम थप्न सकिने उल्लेख गर्दै उपाध्यक्ष साओकाङले आसन्न बीआरआई समिटमा नेपालको सक्रिय सहभागिताको अपेक्षा गरिएको बताउनुभयो। चीनका विभिन्न सहरमा हुने एक्स्पोमा विश्वका गुणस्तरीय उत्पादन सहभागी हुने गरेको उल्लेख गर्दै नेपाली उत्पादकलाई पनि उत्प्रेरित गर्नसके चिनियाँ बजारमा नेपाली वस्तु स्थापित हुने उनको सुझाव छ ।

नेपाल चीन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले चीनले हालैमात्र पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई समावेश गरेको स्मरण गराउँदै सहकार्यले नयाँ उचाई हासिल गर्ने धारणा व्यक्त गर्नुभयो।