चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशीसँगै विदेशी पर्यटकको संख्यामा वृद्धि
2023-03-14 16:27:00cri
Share with:

कोरोनाको जोखिम कम भएसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशीसँगै विदेशी पर्यटकको संख्या बढेको छ । एकसिंगे गैंडा, पाटे बाघ जस्ता दुर्लभ वन्यजन्तु हेर्न रुचाउने पर्यटकका लागि चितवन निकुञ्ज देशको प्रमुख गन्तव्य हो । चालु आर्थिक वर्षको फागुन २८ सम्म १ लाख ९१ हजार ८ सय ८३ जनाले निकुञ्ज घुमेको सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो।

अघिल्लो आर्थिक वर्षको १२ महिनामा कुल १ लाख ९० हजार ४ सय ५८ जनाले निकुञ्ज घुमेका थिए । कोरोना कहर बढ्दा पर्यटकीय गतिविधि शून्य जस्तै थियो । साम्य भएका बेलामा निकुञ्ज घुम्ने धेरैजसो पर्यटक स्वदेशी नै हुने गर्दथे । यो वर्ष विदेशी पर्यटकको संख्या पनि बढेको छ । गएको आर्थिक वर्षमा निकुञ्ज घुम्नेमध्ये सार्क राष्ट्रबाहेकका विदेशी पर्यटक १४ हजार ८ सय ८ जना थिए । यस वर्ष हालसम्म सार्क राष्ट्रबाहेकका ३२ हजार विदेशी पर्यटकले निकुञ्ज घुमेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जनाउनुभयो।

‘कोरोना समस्या कम हुँदै जाँदा पर्यटक संख्यामा सुधार देखियो । अहिलेको अवस्था सन्तोषजनक हो,’ तिवारीले भन्नुभयो । विदेशी पर्यटकको संख्या सामान्य सुधार भएको हुँदा पर्यटनको लहर अझै आइनसकेको व्यवसायी बताउँछन् ।

चितवन निकुञ्ज घुम्न वर्षमा सवा लाख हाराहारीमा विदेशी पर्यटक आउने गरेको निकुञ्ज कार्यालयको तथ्यांक छ । चीनले हालै मात्र आफ्ना नागरिकले घुम्न सक्ने देशभित्र नेपाल पनि समावेश गरेका कारण आउँदा दिनमा अवस्था राम्रो हुने आशामा पर्यटन व्यवसायी छन् । चितवन निकुञ्ज घुम्न आउने विदेशी पर्यटकमध्ये ६० प्रतिशत चिनियाँ हुने गरेको निकुञ्जले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।

‘चिनियाँहरू आए हामीलाई बल्ल ठूलो राहत हुने थियो । अहिले सौराहामा पनि फाट्टफुट्ट चिनियाँ देखिन थालेका छन् । बुकिङका लागि सोधखोज पनि सुरु भएको छ,’ पर्यटकीय होटलको संस्था क्षेत्रीय होटल संघ (हान) चितवन सौराहाका पूर्वअध्यक्ष दीपक भट्टराईले भन्नुभयो । उहाँको होटलमा विगतमा चिनियाँ पर्यटक प्रशस्त आउँथे । कान्तिपुर।