व्यापार तथा लगानी वृद्धि गर्न आग्रह
2023-03-14 16:29:50cri
Share with:

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग वैदेशिक लगानीका लागि चीन सरकारको छाता संस्था ‘काउन्सिल फर दी प्रमोसन अफ इन्टरनेसनल ट्रेड’ (सीसीपीआईटी)का उपाध्यक्ष चाङ साओकाङले भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार भएको भेटमा दुई मुलुकबीच व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले एक चीन नीतिप्रतिको नेपालको दृढता दोहो-याउनुभयो। सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले चीनसँग नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय व्यापार साझेदारी रहेको चर्चा गर्दै र नेपालमा लगानीमैत्री वातावरण भएकाले चिनियाँ लगानीको सधैँ स्वागत गरिने बताउनुभयो । केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर दुई मुलुकबीचको आयात–निर्यातलाई सहज बनाउनुपर्ने  आवश्यकता औँल्याउँदै  उपप्रधानमन्त्री श्रेष्ठले आपसी समझदारीका आधारमा नेपाल र चीनबीचको व्यापार घाटा कम गर्नुपर्ने बताउनुभयो ।

भेटवार्तामा नेपालका लागि चीनका राजदूत छन् सोङसहितका अधिकारीहरूको सहभागिता थियो । उपाध्यक्ष चाङले नेपाल पुरानो र नजिकको मित्र भएको चर्चा गर्दै नेपालमा थप लगानीको सुनिश्चितता गर्नु नै आफ्नो भ्रमणको उद्देश्य भएको बताउनुभयो । नेपालले ठूलो प्रविधियुक्त उद्योग निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने उहाँको भनाइ थियो ।

झन्डै चार वर्ष लामो कोभिडले चीनको वैदेशिक लगानी तथा व्यापारमा असर परे पनि चीन अब कोभिडबाट खुला भएकाले सहजता भएको बताउनुभयो । कोभिड–१९ का कारण चीन र नेपालबीचको उच्चस्तरीय भ्रमण आदानप्रदानमा कमी आएको र त्यसबाट दुई मुलुकबीचको व्यापारमा समेत असर परेको उपाध्यक्ष चाङको भनाइ थियो।गोरखापत्र।