नयाँ जातको मार्सी धान विकास, रोग प्रतिरोधी हुने दाबी
2023-03-15 15:50:05cri
Share with:

विश्वको उच्च स्थानमा फल्ने उपमा पाएको जुम्ली मार्सी धानको नयाँ जात विकास गरिएको छ। कृषि अनुसन्धान कार्यालय जुम्लाका प्रमुख रेशमबाबु अमगाईका अनुसार १३ वर्षको अनुसन्धानबाट विकास गरिएको धानलाई जुम्ली मार्सी १८, जुम्ली मार्सी २० र जुम्ली मार्सी– २२ नाम दिइएको छ। विकास गरिएका यी ३ जातको धान किसानको खेत र अनुसन्धान केन्द्रको आफ्नै जमिनमा परीक्षण गरिसकिएको छ।

परम्परागत मार्सी धानमा ब्लास्ट रोगको प्रकोप बढ्न थालेपछि रोग प्रतिरोधी मार्सी धान विकासका लागि नार्कका वैज्ञानिक लागिपरेका थिए । विकसित नयाँ धान औपचारिक रुपमा घोषणा गरिएको छैन। वैज्ञानिक अमगाईले भन्नुभयो, ‘नार्कले औपचारिक रुपमा घोषणा नगर्दासम्म किसानलाई वितरण गर्न मिल्दैन ।’ उहाँका अनुसार विकास गरिएको धानको बोट मार्सीजति नै अग्लो हुन्छ । चिसो सहन सक्ने, पाक्ने समय पनि एउटै र दाना पनि मार्सीको जस्तै हुन्छ ।

सन् २०१० देखि नै जुम्ली मार्सी धान संकलन गरी अनसन्धान सुरु गरिएको कान्तिपुर अनलाइनले लेखेको छ। ‘हामीलाई उत्पादन बढी दिने र रोग नलाग्ने मार्सी धान चाहिएको हो’ उहाँले भन्नुभयो ‘निष्कर्षमा ३ जात निकालिएको छ । मार्सीको स्वाद, अडिलोपन र पोषिलोजस्ता गुणहरु नयाँ जातमा हटेको छैन ।’

जुम्ली मार्सी धान १ हजार ४ सय हेक्टरमा लगाइन्छ । औसतमा प्रतिहेक्टर १ दशमलव ८ टन मार्सी उत्पादन हुन्छ । हरेक वर्ष ब्लास्ट रोगले मात्र २६ प्रतिशत नास गरिरहेको छ । यो भनेको मार्सी धानको कुल उत्पादनमा एक चौथाइ हो । अमगाईका अनुसार जुम्लामा बर्सेनि २६ करोड रुपैयाँ बराबरको धान फल्छ । प्रतिहेक्टर १ लाख ४० हजार रुपैयाँ बराबरको धान फलिरहेको छ । ब्लास्ट रोगका कारण ६ करोड रुपैयाँ बराबरको उत्पादन बर्सेनि नोक्सान भइरहेको छ ।

मार्सी धानको खेतीका लागि पर्याप्त पानी चाहिन्छ । जुम्लामा १ सय ८० दिनमा धान पाक्छ। जुम्ली मार्सी धानको खेती चैत महिनामा सुरु भएर कात्तिक महिनामा फल भित्र्याइन्छ । अन्तर्राष्ट्रिय धानबाली प्रतिष्ठानका नेपाल प्रतिनिधि डा. कृष्णदेव जोशीले मार्सी धानको अवस्था, शक्तिशाली जीवाणु र वातावरण धानको लागि अनुकुलित छ या छैन भन्ने विषयले उत्पादनमा फरक पर्ने बताउनुभयो।