काठमाडौंमा ‘नेपाल–चीन बिजनेस फोरम आयोजित, लगानीकर्तालाई वैधानिक सहयोग गर्ने प्रधानमन्त्री दाहालको भनाइ
2023-03-15 15:48:41cri
Share with:

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न चाहने चिनियाँ कम्पनीलाई सबै वैधानिक सहयोग गर्न तयार रहेको बताउनुभएको छ। नेपाल उद्योग परिसङ्घले राजधानीमा बुधबार आयोजना गरेको ‘नेपाल–चीन बिजनेस फोरम’मा नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेको र आवश्यक परे थप सहज बनाउन पनि तयार रहेको उहाँको भनाइ थियो ।

सन् २०२६ को अन्त्यसम्ममा अतिकम विकसित मुलुकको अवस्थाबाट स्तरोन्नतिको लक्ष्य पूरा गर्न नेपाललाई पूर्वाधार विकास र प्रविधिको अधिकतम उपयोग गर्न पनि लगानी आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो। पाँच दर्जनभन्दा बढी चिनियाँ लगानी सम्मिलित उक्त फोरममा उहाँले भन्नुभयो, “हाम्रा यी प्राथमिकता क्षेत्रमा वित्तीय र प्राविधिक खाडल भर्न पनि चिनियाँ लगानीको अपेक्षा गरेका छौँ ।”

कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालको कानुनले लगानीबाट कमाएको आम्दानीको पूर्ण फिर्तीलाई अनुमति दिने, विदेशी कम्पनीले जग्गा खरिद, स्वामित्व र बिक्री गर्न सक्ने सुविधा प्रदान गरेको जानकारी गराउनुभएको थियो। “नेपालमा स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै भेदभाव गरिँदैन । निजी उद्योगलाई राष्ट्रियकरण गर्ने नीति पनि छैन,” उहाँले भन्नुभयो । कम खर्चिलो जनशक्तिको उपलब्धता, परिमार्जित श्रम कानुन, करको तहको कम, सुधारिएको औद्योगिक सम्बन्ध भएकाले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उहाँको भनाइ थियो।

औद्योगिक विकासको प्रारम्भिक चरणमा नेपालमा कुनै पनि क्षेत्रको लगानी लाभदायक रहेको प्रधानमन्त्रीले बताउनुभयो। विदेशी लगानी आकर्षित गर्न प्रक्रिया थप सरल बनाउनेदेखि एकद्वार प्रणालीलाई पूर्ण रूपमा सञ्चालन गर्न गम्भीर रूपमा काम गरिरहेको उहाँले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले जनाएको छ।

चीन नेपालका लागि व्यापार र लगानीको क्षेत्रमा सबैभन्दा ठूलो साझेदार रहेको प्रधानमन्त्रीले बताउनुभयो । त्यस्तै उहाँले चीन र भारतको सीमामा औद्योगिक क्षेत्र बनाउने प्रक्रिया पनि अघि बढाइरहेको जानकारी दिनुभयो। नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकाले नेपालको भूभाग चीनविरुद्ध प्रयोग गर्न नदिने उहाँले बताउनुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषद् (सीसीपीआईटी)का उपाध्यक्ष चाङ साओगाङले नेपालमा धेरै आकर्षक उत्पादन भए पनि चिनियाँ उपभोक्तामाझ परिचित नभएकाले सीसीपीआईटीले त्यस्ता वस्तुको प्रवद्र्धनमा सहयोग गर्ने बताउनुभयो । आगामी दिनमा नेपाल र चीनबीच द्विपक्षीय व्यापार विस्तार जारी राख्नुपर्ने, लगानी सहयोगका क्षेत्रलाई विस्तार गर्नुपर्ने, व्यापार प्रवद्र्धन संस्थाको भूमिकालाई बढाउने जस्ता कार्य गर्नुपर्ने उहाँको भनाइ थियो । सीसीपीआईटीले चीन–नेपाल अर्थतन्त्रको निरन्तर विकासलाई प्रवद्र्धन गर्ने प्रयास गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालका लागि चीनका राजदूत छेन सोङले अन्तर्राष्ट्रिय रूपमा देखापरेको व्यापार र आर्थिक सङ्कटबाट समाधान पाउन नेपाल र चीनबीच रणनीतिक सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।

विकासका काम द्विपक्षबीच सहकार्य आवश्यक रहेकाले त्यसका लागि चीन तयार रहेको उहाँको भनाइ थियो । त्यस्तै उहाँले भूजडित हुने नेपालको लक्ष्यलाई सहयोग गर्न चीन तयार रहेको पनि जानकारी दिनुभयो । अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने नेपालको प्रयास स्वागतयोग्य रहेको उहाँको भनाइ थियो । चिनियाँ पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य रहेकाले अब पर्यटन र लगानीको हिसाबले चीन नेपालमा पहिलो मुलुक बन्ने उहाँले बताउनुभयो। नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले नेपाल र चीनबीच व्यापार, परिवहन र पर्यटन महत्वपूर्ण क्षेत्र रहेकाले यस क्षेत्रमा सहकार्य आवश्यक रहेको बताउनुभयो । त्यस्तै उहाँले नेपालले चीनबाट सधैँ धेरै पर्यटक र औद्योगिक क्षेत्रमा लगानीको अपेक्षा गरेको जानकारी दिनुभयो।