कोभिडले थलिएको पर्यटन उद्योगको विकासका लागि नयाँ गन्तव्य विकास गर्नुपर्ने
2023-03-16 15:41:38cri
Share with:

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोभिडले थलिएको पर्यटन उद्योगको विकास, विस्तार र प्रवद्र्धनका लागि विविधीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संयुक्त राष्ट्र सङ्घ विश्व पर्यटन सङ्गठन र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको क्षेत्रीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

महामारीका कारण थला परेको पर्यटन क्षेत्र पुनः चलायमान बनाउन नयाँ गन्तव्य स्थलको खोजी गरी त्यसको विकास र विविधीकरण, पर्यटकीय पूर्वाधारको विकास, यस क्षेत्रमा लगानी बढाउनुका साथै पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तैगरी संयुक्त राष्ट्रसङ्घअन्तर्गत विश्व पर्यटन सङ्गठनका एक्सटर्नल रिलेसन निर्देशक बेका जकेलीले पर्यटनको आयाम परिवर्तन हुँदै गएको सन्दर्भमा पर्यटकीय योजना तर्जुमादेखि प्रवद्र्धनात्मक कार्यका लागि गुणस्तरिय तथ्याङ्क आवश्यक हुने बताउनुभयो।

स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले विश्व पर्यटन लयमा फर्किन थालेको पछिल्लो अवस्थामा कार्यशालामा विज्ञहरूबीच हुने छलफल तथा बहसले विश्व पर्यटनलाई दिशानिर्देश गर्ने बताउनुभयो । 

पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले पर्यटनका विभिन्न आयाममा हुने छलफल तथा पर्यटन तथ्याङ्कका विषयमा विभिन्न देशका अनुभव आदानप्रदानले पर्यटनका लागि नयाँ दृष्टिकोण तयार पार्ने विश्वास व्यक्त गर्नुभयो ।

आगामी शुक्रबारसम्म चल्ने कार्यशालामा नेपाल, भारत, बङ्गलादेश, मलेसिया, माल्दिभ्स, इन्डोनेसिया, इरान, फिलिपिन्स, कम्बोडिया, लाओस, कोरिया, थाइल्यान्ड, स्पेनलगायत ११ देश तथा यूएनडब्लूयूटीओका प्रतिनिधि सहभागी रहेको गोरखापत्र अनलाइन लेख्दछ।