विद्युत् चुहावटलाई साढे बाह्र प्रतिशतमा झार्दै नेपाल
2023-03-16 15:42:22cri
Share with:

नेपाल विद्युत् प्राधिकरणले समग्र विद्युत् चुहावट १२ दशमलव ५९ प्रतिशतमा झारेको छ। गत असारसम्ममा यस्तो चुहावट १५ दशमलव ३८ प्रतिशत थियो। माघसम्म प्रसारणतर्फको ४ दशमलव ६० प्रतिशत र वितरणतर्फको विद्युत् चुहावट ७ दशमलव ९९ प्रतिशतमा सीमित भएको प्राधिकरणले जनाएको हो ।

नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानका कारण चुहावटलाई अपेक्षित नियन्त्रणमा राख्न सकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो। “ग्राहकका मिटर रिसिलिङ गर्ने, बक्यौता नतिर्ने तथा कालोसूचीमा रहेका ग्राहकको लाइन काट्ने, छड्के मिटर रिडिङ गर्ने, हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गर्नेलगायतलाई देशैभरि अभियानकै रूपमा सञ्चालन गरिएकाले चुहावट नियन्त्रणमा लक्ष्यभन्दा धेरै सफलता प्राप्त भएको छ,” कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । 

यस वर्षको माघमा गत वर्षको सोही महिनाको तुलनामा वितरणतर्फको विद्युत् चुहावट ३ दशमलव ९८ प्रतिशत बिन्दुले घटेर ४ दशमलव ८९ प्रतिशतमा सीमित भएको छ। गत वर्षको माघमा यस्तो चुहावट ८ दशमलव ८७ प्रतिशत थियो।

आव २०७९/८० माघसम्ममा वितरण प्रणालीमा पाँच अर्ब ७३ करोड २२ लाख युनिट विद्युत् प्राप्त भएकामा पाँच अर्ब २७ करोड ४१ लाख युनिट विद्युत् बिक्री भएको र चार करोड ५८ लाख युनिट विद्युत् चुहावट भएको छ ।

प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ। प्राधिकरणले चालू आर्थिक वर्ष समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। घिसिङका अनुसार यस अवधिमा धेरै पुराना तथा ओभरलोड भएका कन्डक्टर तथा ट्रान्सफर्मर फेरिएका छन्। नयाँ सबस्टेसन निर्माण तथा पुरानोको स्तरोन्नति, औद्योगिक क्षेत्रमा विद्युत् खपत वृद्धि, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहनलगायतका कारण पनि चुहावट निन्त्रणमा सफलता मिलेको हो । 

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्र्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटररिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइरहेको जनाएको छ।

 प्रत्येक प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र ती मातहतका वितरण केन्द्रहरूलाई चुहावट नियन्त्रणको लक्ष्य तोकिएको छ । लाइन सुधार तथा विस्तारका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको छ । प्राधिकरणका वितरण केन्द्रले स्थानीय प्रशासनको सहयोगमा विद्युत् चोरी गर्नेलाई दैनिक रूपमा नियन्त्रणमा लिँदै कारबाही गर्दै आएको छ ।

गोरखापत्र अनलाइनका अनुसार प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट रहेको मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको चुहावट ११ दशमलव ७८ प्रतिशतमा झरेको छ।

प्राधिकरणका अनुसार कोशी प्रदेशमा समग्र विद्युत् चुहावट ८ दशमलव १७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा चुहावट १० प्रतिशत थियो । बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौँडा मातहतका छवटा वितरण केन्द्रको गत वर्षको माघसम्मको ४ दशमलव ६३ प्रतिशत रहेको समग्र विद्युत् चुहावट यस वर्ष सोही अवधिमा ५ दशमलव ९९ प्रतिशत रहेको छ । प्रादेशिक कार्यालय काठमाडौँ मातहतका २० वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट ६ दशमलव २५ प्रतिशत रहेको छ । गण्डकी प्रदेशमा गत वर्ष वर्षको माघसम्मको समग्र विद्युत् चुहावट ८ दशमलव ०३ प्रतिशत रहेकोमा समीक्षा अवधिमा ७ दशमलव २५ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट ६ दशमलव ९६ प्रतिशत रहेको छ । सुदूरपश्चिम प्रदेशमा विद्युत् चुहावट ७ दशमलव १६ प्रतिशत रहेको छ।