नेपाल विश्वकप क्रिकेट छनोटमा
2023-03-17 15:26:56cri
Share with:

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार यूएईमाथि अद्वितीय र नाटकीय जित रच्दै सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाएको छ । ग्लोबल छनोट जुन–जुलाईमा जिम्बावेमा हुँदै छ । जहाँ १० टिम प्रतिस्पर्धामा हुनेछन् । १० टिमले दुई समूह रहेर प्रतिस्पर्धा गर्नेछन् । दुवै समूहका शीर्ष ३–३ टिम सुपर लिगमा पुग्नेछन् । सुपर लिगको खेलपछि शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । छनोट खेल्ने नेपालसहित नेदरल्यान्ड्स, जिम्बावे, ओमान र स्कटल्यान्डले स्थान पक्का गरिसकेका छन् । अन्य टिम छनोट हुन बाँकी छ ।

नेपालको जित केही हदसम्म विवादास्पद पनि रह्यो । तर, नेपाल जितका लागि पूर्णतः हकदार बन्यो । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खराब प्रकाशका कारण खेल रोकिँदा नेपाल डकवर्थ लुइस नियमअनुसार ९ रनले विजयी रहेको हो ।

नेपाल पछिल्ला १२ खेलमध्ये अविश्वसनीय रूपमा ११ मा विजयी रह्यो । आईसीसी पुरुष क्रिकेट वर्ल्डकप लिग २ को शीर्ष तीन स्थानमा रहेकाले ग्लोबल छनोटमा सिधा प्रवेश पाएको हो । नेपालसँगै छनोट हुनेमा च्याम्पियन स्कटल्यान्ड र ओमान छन् ।

खेलको अन्त्यतिर वर्षाले बिथोलिने सम्भावना पनि देखिएको थियो । त्यतिबेला यूएईका खेलाडीले खेलमा अवरोध उत्पन्न गर्दै व्यवधान पुर्‍याउने प्रयास गरे । यो रणनीति अन्त्यमा उनीहरूकै लागि घातक साबित भयो । यसबीच गुलसन झा र दीपेन्द्रसिंह ऐरीले संयमितता गुमाएनन् । उनीहरूले सातौं विकेटका लागि नटआउट ४४ रनको महत्त्वपूर्ण साझेदारी गरे । खेलको निर्णायक मोड भने नेपाली इनिङ्समा ८ ओभर बाँकी छँदा आएको थियो ।

त्यतिबेला नेपाल डकवर्थ नियमअनुसार पछाडि परेको स्थितिमा थियो । त्यसै स्थितिमा गुलसनले आफ्नो पहिलो एकदिवसीय अर्धशतक पूरा गरे  र खेल जित्ने स्थिति बनेको कान्तिपुर अनलाइनले लेखेको छ।