विदेशी लगानी प्रतिबद्धता १८ अर्ब, भित्रियो पौने ३ अर्ब
2023-03-17 15:28:09cri
Share with:

चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ) सम्ममा नेपालमा कुल २ अर्ब ८४ करोड रुपैयाँ मात्र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको छ । नेपालमा गत आर्थिक वर्षदेखि नै विदेशी लगानी तीव्र दरमा घट्न थालेको हो । उक्त वर्षमा पनि भदौबाहेक सबै महिनामा विदेशी लगानी घटेको थियो । चालु आर्थिक वर्षको सुरुदेखि नै सोही प्रवृत्ति दोहोरिएको छ । यसअनुसार गत साउनदेखि माघसम्म सबै महिना विदेशी लगानी उच्च दरले घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

चालु आर्थिक वर्षका पहिलो २ महिना (साउन र भदौ) मा खुद विदेशी लगानी ऋणात्मक थियो । यसअनुसार साउनमा १ अर्ब ४० करोड र भदौसम्ममा ८० करोड रुपैयाँले खुद विदेशी लगानी ऋणात्मक रहेको राष्ट्र बैंकको तथ्यांक छ । यद्यपि साउनमा ४० करोड ९६ लाख र भदौमा ५८ करोड ८० लाख रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । चालु आर्थिक वर्षको सुरुमै पोखरास्थित मणिपाल कलेजबाट १ अर्ब ८० करोड रुपैयाँ विदेशी लगानी बाहिरिएपछि आर्थिक वर्षको पहिलो दुई महिनामा खुद विदेशी लगानी ऋणात्मक देखिएको हो । यही कारण सात महिनासम्ममा खुद विदेशी लगानी १ अर्ब ३ करोड मात्र रहेको राष्ट्र बैंकको मासिक तथ्यांकले देखाएको छ । यही तथ्यांकका आधारमा गत आर्थिक वर्षको सात महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिको खुद विदेशी लगानी करिब साढे ९३ प्रतिशतले घटेको कान्तिपुर अनलाइनमा खबर छ ।

०७८ माघसम्म १६ अर्ब २९ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । बाहिरिएको विदेशी लगानी नहेरी नेपाल भित्रिएको रकम मात्र जोड्दा चालु आर्थिक वर्षको सात महिनामा कुल २ अर्ब ८४ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको देखिन्छ । सोही अवधिमा नेपालबाट फिर्ता भएको रकम घटाउँदा खुद विदेशी लगानी कम देखिएको हो । गत असोजदेखि भने खुद प्रत्यक्ष विदेशी लगानीको वृद्धिदर पनि सकारात्मक हुन थालेको थियो । राष्ट्र बैंकका अनुसार गत असोजमा करिब ८८ करोड ९३ लाख, कात्तिकमा ३४ करोड ९६ लाख, मंसिरमा १७ करोड ५८ लाख, पुसमा १४ करोड ४५ लाख र माघमा २८ करोड ५९ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको छ । यसरी नेपालमा भित्रिएको विदेशी लगानी सोही अवधिमा विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धताभन्दा निकै कम हो ।

गत साउनदेखि माघसम्म नेपालमा १ सय ४४ वटा आयोजनाका लागि १८ अर्ब ६३ करोड रुपैयाँको प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांक छ । यो चालु आर्थिक वर्षको सात महिनामा उद्योग विभागले स्वीकृत गरेको विदेशी लगानी प्रतिबद्धता रकम हो । तर, सोही अवधिमा १ अर्ब ४ करोड रुपैयाँ मात्र विदेशी लगानी भित्रिएको छ । गत माघमा मात्रै १ अर्ब ३९ करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता प्राप्त भएको छ । सोही अवधिमा वास्तविक रूपमा नेपाल भित्रिएको विदेशी लगानी ६६ करोड रुपैयाँ मात्र हो ।

प्रतिबद्धता भएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने हुँदैन । सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउने अनुमति दिएको हुन्छ । यसकारण गत माघसम्ममा १८ अर्बको लगानी प्रतिबद्धता भएकामा १ अर्ब रुपैयाँ मात्र रकम भित्रियो भनेर विश्लेषण गरिहाल्न नमिल्ने जानकारहरू बताउँछन् । यद्यपि लगानीका लागि भएको प्रतिबद्धताको तुलनामा निकै कम मात्र विदेशी लगानी आउने गरेको उनीहरू स्विकार्छन् ।

नेपालमा विदेशी लगानी निरन्तर घट्नुको पहिलो कारण राज्यले उपयुक्त लगानी वातावरण बनाउन नसक्नु नै भएको अर्थविद् केशव आचार्यको भनाइ छ । धेरैभन्दा धेरै विदेशी लगानी भित्र्याउन नेपालले धेरै नीतिगत र संरचनात्मक सुधार गर्नुपर्ने भए पनि सुरुमा स्वदेशी लगानीकर्ताले लगानी विस्तार गर्ने वातावरण निर्माण गर्नु नै मुख्य काम भएको उहाँले बताउनुभयो। पछिल्ला दिनमा नेपालमा बैंक तथा वित्तीय संस्थाविरुद्ध बढ्दै गएको अराजक गतिविधिले पनि अन्तर्राष्ट्रिय जगत्मा नराम्रो सन्देश गएको छ । यस्ता गतिविधिले विदेशी लगानीकर्ता लगानी विस्तारका लागि झस्किएका देखिन्छन् ।