बिआरआई परियोजना सफल कार्यान्वयनमा ल्याउन नेपाल सरकार दृढ छ: उपप्रधानमन्त्री श्रेष्ठ
2023-03-17 15:33:46cri
Share with:

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकार चीनको बेल्ट एण्ड रोड (बिआरआई) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन दृढ रहेको बताउनुभएको छ। सो परियोजनाको कार्यान्वयनमा केही ढिलाइ भएको स्वीकार गर्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन नेपाल सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो।

बिहीबार काठमाडौंमा आयोजित ‘चाइना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले सो परियोजनाको सफल र शिघ्र कार्यान्वयनमा नेपालको हितमा रहेको उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्न आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजना अन्तर्गत नेपालले ठूला पूर्वाधारको विकासमा सहयोग र सहकार्यको अपेक्षा गरेको र यसका लागि विभिन्न मोडालिटीका विषयमा दुई मुलुकबीच छलफल भइरहेको स्मरण गराउँदै नेपालले त्यसलाई ठोस निष्कर्षमा पुर्‍याउन चाहेको समेत बताउनुभएको सेतोपाटी अनलाइनले जनाएको छ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘नेपाल एक चीन नीतिप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको कुरा दोहोर्‍याउन चाहन्छु। पछिल्लो समयमा विश्व राजनीतिमा भइरहेको अभूतपूर्व परिघटनालाई हामीले नजिकबाट अध्ययन गरिरहेका छौं। नयाँ विश्व व्यवस्थातर्फ उन्मुख अहिलेको समय अति नै गम्भीर रहेको मैले ठानेको छु। नेपालप्रति चीनले व्यक्त गरेको सदभाव र हाम्रो भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताप्रति चीनले गरेको सम्मानले नेपाल–चीन सम्बन्ध पारस्पारिक, मैत्रीपूर्ण र सुमधुर रहेको पुष्टि गर्दछ। जहाँसम्म आजको कार्यक्रमको विषयसँग सम्बन्धित पक्ष छ। नेपाल बिआरआईलाई पूर्ण कार्यान्वयनमा ल्याउन प्रतिबद्ध रहेको छ।’

हालसम्म केही ढिलाइ भएको भए पनि नेपालको विकास र समृद्धिको यात्राका लागि चीनसँगको सहकार्य र बिआरआई परियोजनाको कार्यान्वयन नयाँ कोशेढुंगा हुनेछ भन्नेमा आशावादी रहेको उहाँले बताउनुभयो।

‘नेपाल सरकार बिआरआईको सफल कार्यान्वयनमा  दृढ रहेको छ। र, अझ नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको नेतृत्वको हिसाबले बिआरआईको सफल र शीघ्र कार्यान्वयन नेपालको हितमा रहेको आत्मसात गर्दै त्यस अन्तर्गतको कार्यक्रम र परियोजनालाई सरकारको तर्फबाट सहयोग र सहजीकरण गरिने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु,’ उहाँले भन्नुभयो।

त्यस अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल चिनियाँ ऋणको पासोमा परेको भन्ने भ्रमात्मक प्रचारबाट प्रभावित नभएको स्पष्टीकरण दिनुभयो। उहाँले चीनबाट नेपालको ठूला पूर्वाधार निर्माणमा देखिएको आर्थिक अभाव पूरा हुने अपेक्षा गरिएको बताउनुभयो।

मुलुकको विकासमा प्रतिकूल असर पर्ने वा आर्थिक संकट बढाउने कुनै पनि ऋणको पासोमा नेपाल नपर्ने उपप्रधानमन्त्री श्रेष्ठको स्पष्टीकरण थियो।

उहाँले भने,‘पूर्वाधार निर्माणमा नेपालमा अहिले रहेका फाइनान्सियल ग्याप पूरा गर्न छिमेकी चीनको भूमिकाप्रति हामी आशावादी छौं। चिनियाँ ऋणको पासोमा पर्न लागेको भन्ने चर्चाका सन्दर्भमा पनि हामी स्पष्ट नै छौं। हामी नेपालको विकासलाई प्रतिकूल असर पार्ने वा आर्थिक संकट बढाउने कुनै पनि ऋणको पासोमा पर्न चाहने छैनौं, पर्ने छैनौं र, साथसाथै यस प्रकारको कुनै भ्रमात्मक प्रचारबाट पनि हामी प्रभावित हुने छैनौं।’