विदेशी लगानीका कम्पनीले ८ महिनामा नेपालबाट लगे साढे १३ अर्ब नाफा
2023-03-18 16:11:13cri
Share with:

चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत विदेशी लगानीका कम्पनीले करिब साढे १३ अर्ब रुपैयाँ बराबरको रकम लगेका छन् । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ बराबर लाभांश रकम फिर्ताको सिफारिस गरिएको हो ।

विभागले आठ महिनामा रोयल्टीवापत २ अर्ब ८ करोड ९३ लाख रुपैयाँ, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार भारु तथा सात हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि १५ दिनभित्र रकम लैजान पाइन्छ ।

विभागले फागुनमा मात्रै लाभांशवापत करिब ३ अर्ब विदेश लैजानका लागि सिफारिस दिएको छ । विभागले २ अर्ब ८ करोड १० लाख ८३ हजार विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीवापत फागुनमा मात्रै ३३ करोड ३० लाख ९१ हजार ५ सय ३७, २ लाख ५० हजार २४ अमेरिकी डलर, २० लाख १० हजार भारु फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ।

शाखाका प्रमुख शङ्करसिंह धामीका अनुसार गत आवको तुलनामा चालु आवमा विदेशिने रकम बढ्ने अनुमान छ । 'गत आवमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो, गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै विदेशिने अनुमान छ', उहाँले भन्नुभयो। चालु आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत एक हजार ६९ जना लगानीकर्ता, १५० जना प्रतिनिधि र ३९२ जना आश्रितका लागि सिफारिस गरेको छ । फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ। विभागका अनुसार फागुनसम्म २ सय ३९ उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।