पूर्वी नेपालका सीमावर्ती क्षेत्रमा पर्यटक सुविधाका लागि होमस्टे सञ्चालनको तयारी
2023-03-19 16:06:09cri
Share with:

भारतको पश्चिम बंगाल र सिक्किमको सिमाना जोड्ने पाँचथरस्थित उच्च पहाडी एवं हिमाली क्षेत्रमा पर्यटक सुविधाका लागि होमस्टे सञ्चालनको तयारी थालिएको छ ।

फालेलुङ गाउँपालिका वडा ४ र ५ स्थित आहाले, चन्दु, चारराते, सिखरगुम र तीन सिमाना क्षेत्रमा ३० वटा होमस्टे सञ्चालन गरिने योजना अघि बढेको छ । सीमावर्ती क्षेत्रबाट थालिएका उक्त योजना फालेलुङका मुवाझर्ना, गुरुङटार, पानावा, भैंसे र गोरुवाले जस्ता पर्यटकीय स्थलसम्म विस्तार गर्ने लक्ष्य राखेर सहजीकरण गरिएको फालेलुङ कञ्चनजंघा पर्या पर्यटन संस्थाका उपाध्यक्ष शिल्प राईले जानकारी दिनुभयो।

उहाँका अनुसार होमस्टे सञ्चालनका लागि फालेलुङ गाउँपालिकाले कार्यविधि बनाएर कार्यपालिका बैठकमार्फत् पारित गरिसकेको छ । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारा गाउँविकास समितिले होमस्टे दर्तासँगै सञ्चालकहरूका लागि आधारभूत तहको तालिम सञ्चालन गरेको छ । हालसम्म ९ होमस्टे दर्ता भइसकेको र बाँकी २१ वटा दर्ता प्रक्रियामा छन् । यसका लागि आवश्यक पूर्वाधार सञ्चालक स्वयंले निर्माण गर्ने, गाउँपालिकाले स्थानीय, सामुदायिक वन उपभोक्ता समिति र सरोकारवाला निकायमा समन्वय गरिदिने र उक्त समितिले आर्थिक र प्राविधिक सहयोग गर्ने सहमति भएको छ ।

उक्त समितिका लेखापाल लीलाप्रसाद तिम्सिनाका अनुसार मन्त्रालयले व्यवसायीलाई आधारभूत तहदेखि खाना पकाउने, हस्पिटालिटीजस्ता प्राविधिक तालिमसँगै सामुदायिक भवन निर्माणका लागि आर्थिक सहयोग गर्नेछ । पाँचथर र इलामका उच्च पहाडी तथा हिमाली भेगमा चौंरीसँगै रेडपाण्डा र विभिन्न जडीबुटी पाइन्छन् । यहाँ आन्तरिकसँगै भारतको बंगाल, सिक्किम, पञ्जाब र भुटानबाट समेत पर्यटक आउँछन् । सीमावर्ती क्षेत्रमा भारततर्फ ठाउँठाउँमा व्यवस्थित होटल र लज सञ्चालनमा आए पनि नेपालतर्फ छिटफुटबाहेक त्यस्ता सेवा व्यावसायिक रूपमा सञ्चालन गरिएको छैन । नेपालतर्फ घुम्न आएका पर्यटकमध्ये धेरै पाल टाँगेर वा चौंरी गोठमा बस्न बाध्य हुन्छन् ।

ती पर्यटकलाई सुविधा दिन होमस्टे सञ्चालनको अवधारणा ल्याइएको हो । फालेलुङ गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङ होमस्टे सञ्चालनमा आएपछि यस क्षेत्रमा आउने पर्यटकलाई गाँसबासको सुविधासँगै स्थानीयको आयस्रोतमा पनि वृद्धि हुने बताउँछन् । यहाँका होम स्टेमा मकै, भट्मास, आलु, फर्सी, इस्कुस, बन्दाकोबी, रायो, चौंरीको चिजजस्ता वस्तुका परिकारलाई प्राथमिकता दिइने सञ्चालक प्रमिला तामाङ बताउनुहुन्छ।