चीनको नानछाङस्थित विश्वविद्यालयमा खुल्यो नेपाली भाषा कक्षा
2023-03-19 16:15:12cri
Share with:

नेपालको पर्यटन तथा व्यवसायप्रति बढ्दो चासोसँगै चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषाका कक्षाहरू चिनियाँ शिक्षार्थीको आकर्षण बन्न थालेका छन् । हालसम्म चीनभर आधा दर्जनजति नेपाली भाषाका कक्षा चलिरहेका छन् । भर्खरै दक्षिणपूर्वी चीनको च्याङ्सी प्रान्तको नानछाङ्स्थित इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (ईसीयूटी)मा नेपाली भाषा कक्षा सुरू गरिएको कान्तिपुर अनलाइनमा खबर छ।

विश्वविद्यालयमा शुक्रबार आयोजित ‘भाषा संचार तथा सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममार्फत् भाषा कक्षाको शुभारम्भ गरिएको हो। सोही अवसरमा अनलाइन तथा अफलाइन माध्यमबाट सहभागी नेपाली तथा चीनका विज्ञहरूबीच अन्तर्क्रिया समेत गरिएको विश्वविद्यालयको जिओफिजिक्स विभागमा कार्यरत नेपाली सह-प्राध्यापक डा. तारा बन्जाडेले जानकारी दिनुभयो । उहाँले चिनियाँ नयाँ पुस्ताले नेपाली भाषा अध्ययनमा देखाएको अभिरुचीबाट जनस्तरीय सम्बन्ध विस्तारमा सहयोग पुग्ने देखेर युनिभर्सिटीले नेपाली भाषा कक्षा चलाउन लागेको बताउनुभयो।

चीनमा लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्याल, अरुणिमा कलेजका प्रमुख केशव जोशी, त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक सिन लुकाओ, प्राध्यापक बालमुकुन्द रेग्मीले भिडियो मार्फत् भाग लिएका थिए । चिनियाँ पक्षबाट नेपाली भाषा कक्षाका पहलकर्ता ईसीयूटीअन्तर्गत स्कुल अफ फरेन ल्याङ्ग्वेजका डिन, प्राध्यापक लिउ युएमिङ, पार्टी सचिव प्राध्यापक ये चौ, इन्टरनेश्नल स्कुलका डिन वाङ च् छङ् लगायत उपस्थित थिए ।

नेपालमा उद्योग व्यवसाय तथा पर्यटन क्षेत्रमा संलग्न हुने चिनियाँहरूको संख्या बढ्दै गएकाले नेपाली भाषा कक्षाको माग भएको प्राध्यापक लिउ युएमिङले बताउनुभयो। उहाँले भन्नुभयो, ‘नेपाली भाषा अध्ययन अत्यावश्यक भएको छ । व्यवसाय र पर्यटनका लागि नेपाली भाषाको माग बढ्दो छ।’

नेपालमा लामो समय बसेर वस्तुस्थिति अध्ययन गरेको भन्दै उहाँले पछिल्लो समय त्रिभुवन विश्वविद्यालय र पोखरा भ्रमण गरेर शैक्षिक आदानप्रदानको राम्रो सम्भावना देखेको बताउनुभयो। ‘नेपाली बजारमा पर्यटनको राम्रो सम्भावना देखेकाले चिनियाँहरू स्वयं भाषिक कठिनाइ सुल्झाउन अग्रसर देखिन्छन्’, प्राध्यापक युएले भन्नुभयो, ‘नेपालमा व्यवसाय गर्न चाहने चिनियाँ उद्यमीहरूको इच्छा पनि देखिन्छ।’

पूर्वराजदूत लीलामणि पौड्यालले भाषाले अन्तर्देशीय सम्बन्धलाई गहन पार्न टेवा पुर्‍याउने बताउनुभयो। भाषिक सहजताले एकअर्काको संस्कृति, परम्परा बुझ्न सहज भएर जनस्तरीय सम्बन्धलाई सरल बनाउन सक्ने उहाँको भनाइ थियो ।

नेपाली भाषाको कक्षा आगामी साताबाट सुरू गरिने विश्वविद्यालयले जनाएको छ। यसअघि चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषा कक्षा संचालित छन्। राजधानी बेइजिङस्थित संचार विश्वविद्यालय (सीयूसी) र विदेशी भाषा अध्ययन विश्वविद्यालयमा नेपाली भाषा पढाइ हुँदैआएको छ । राजधानीबाहिर हनान प्रान्तको लोयाङ, युननान प्रान्तको खुनमिङस्थित जातीय विश्वविद्यालय, पल्लो शान्सी प्रान्तीय सियानयाङ सहरको सिचाङ जातीय विश्वविद्यालय लगायतमा नेपाली भाषाका कक्षा संचालित छन्।