भैरहवाबाट मलेसिया र नयाँ दिल्ली उडान गर्ने नेपाल वायु सेवा निगमको तयारी
2023-03-20 16:27:52cri
Share with:

नेपाल वायुसेवा निगम(नेवानि)ले अबको डेढ महीना भित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया र नयाँ दिल्लीमा उडान गर्ने भएको छ। दुई गन्तव्यमा साताको दुई उडान थाल्न नेवानिले यही साता भित्रमा उडान तालिका सार्वजनिक गर्न लागेको क्यापिटल नेपाल अनलाइनले लेखेको छ।
निगमका एक उच्च अधिकारीका अनुसार यही साताभित्रमा उडान तालिका सार्वजनिक गर्ने छन्। केही समयअघि नेवानिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नगरेको भन्दै आलोचना खेपिरहेको बेला अबको डेढ महीना भित्रमा नियमित उडान गर्ने भएको हो।

निगमको तयारी अनुसार काठमाडौँबाट मलेसियाको क्वालाम्पुर, क्वालाम्पुरबाट गौतमबुद्ध र त्यहाँबाट नयाँ दिल्ली उडान गर्ने छ। गौतमबुद्धबाट मलेसियाका लागि सिधा उडान हुँदा यात्रुहरु नपाउने भएकाले तत्कालका लागि काठमाडौँबाट उडान गर्ने र फर्किदा तराई क्षेत्रका यात्रुहरुलाई समेटेर ल्याउने तयारी नेवानिको छ।

सरकारी स्वामित्वमा रहेको नेवानिले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्वलाई पनि ध्यान दिनुपर्ने भएकोले मलेसियाबाट फर्किदा भने गौतमबुद्ध हुँदै दिल्ली र दिल्लीबाट काठमाडौं आउने गरी उडान तालिका तयार पारिरहेको छ।

उडान गर्ने बित्तिकै यात्रुहरु नपाउने भएकोले डेढ महीनाको सीमा राखेर तालिका सार्वजनिक गर्न लागेको जनाएको छ। जहाजको संख्या कम भएकोले जहाज पूर्ण रुपमा गौतमबुद्ध विमानस्थलमा राखेर उडान गर्न सम्भव नभएकोले तत्कालका लागि साताको दुई उडान मात्र गर्न लागेको नेवानि स्रोतको भनाइ छ।

पछिल्लो समय नेवानिले नयाँ गन्तव्यमा उडान गर्ने गरि तयारी समेत थालेको छ। साउदी अरेबिया,दक्षिण कोरिया र अस्ट्रेलियामा उडानका लागि आवश्यक प्रक्रियासमेत अगाडी बढाइरहेको नेवानिले ६ वटा जहाज खरिद गर्ने निर्णय सञ्चालक समितिले गरेको छ। जहाज खरिद गर्ने निर्णय गरेसँगै संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खरिद योजना र व्यावसायिक योजना (बिजनेश प्लान) समेत मागेको छ।

हाल नेवानिसँग अन्तर्राष्ट्रिय उडानका लागि २ वटा वाइडबडी र २ वटा न्यारोबडी जहाज रहेको छ। यस्तै दुई वटा टुइनअटर जहाजमार्फत आन्तरिक उडान गर्दै आएको छ।

हाल गौतमबुद्धबाट जजिरा एयरलाइन्सले मात्र उडान गर्दै आएको छ। उद्धघाटन भएको केही समयपछि हीमालय एयरलाइन्सले उडान गरे पनि यात्रु नभएको भन्दै तत्कालका लागि रोकेको छ।